लन्डन डब्लुटिएममा नेपालको सहभागिता उत्साहजनक


लन्डन । नेपालले नोभेम्बर ३ देखि ५ सम्म लन्डन एक्सेलमा आयोजित वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा उत्साहजनक सहभागिता जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले नेपाल मण्डपको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा रास्वपा सांसद मनिष झा, कार्यवाहक राजदूत विपिन दुवाडी, सरकारी अधिकारीहरू, नेपाल पर्यटन बोर्ड पदाधिकारी र नेपालबाट आएका ट्राभल टुर अपरेटर एवं हस्पिटालिटी क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो ।
यस वर्ष नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ नेपाली कम्पनी र होटल सोल्टी मेलामा सहभागी भए जुन विगत वर्ष भन्दा उल्लेख्य सहभागिता हो ।
कार्यक्रमका क्रममा मन्त्री पौडेलले विभिन्न मित्रराष्ट्रका मन्त्रीहरू र ग्लोबल ट्राभल उद्योगका उद्यमीहरुसँग भेटघाट गरे । ति भेटघाट र छलफल नेपालको पर्यटन सम्भावना, समृद्ध सांस्कृतिक सम्पदा, जीवन्त परम्परा र अद्वितीय यात्रा अनुभवहरूमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा पर्यटन सहयोग सुदृढ पार्ने र नेपाललाई आकर्षक यात्रा गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने अवसरहरूको खोजी गरिएको जनाइएको छ ।

गत ४ नोभेम्बर २०२६ मा मन्त्री पौडेलले ‘वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल’ र यूएन टुरिजमद्वारा संयुक्त रूपमा आयोजित डब्लुटिएम मन्त्रीहरुको शिखर सम्मेलनको २० औं संस्करणमा समेत भाग लिए ।
उता, मन्त्री पौडेलले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दूतावासले आयोजना गरेको पर्यटन प्रवर्द्धन र नेटवर्किङ कार्यक्रम ‘नेपाल साँझ’ लाई सम्बोधन गरे ।
पर्यटन प्रवर्द्धन पहलकै एक हिस्साका रुपमा आयोजित उक्त कार्यक्रमले नेपालको विविध पर्यटन सम्भावना उजागर गर्दै ‘बी टु बी’ सम्बन्ध जोड्न भूमिका निर्वाह गरेको थियो । कार्यक्रममार्फत नेपाल बेलायत दुवै देशका ट्राभल, पर्यटन उद्योग र अन्य सरोकारवाला प्रतिनिधिहरू एकै ठाउँमा जुटेका थिए ।
उक्त विश्व पर्यटन कुम्भमेला समापनपछि मन्त्री पौडेल र सांसद झा स्वदेश फर्किसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



