शुक्रबार, चैत १६, २०८०
19:42 | ०१:२७

एनआरएनए यूकेले नेपाल पठाएका सबै अक्सिजन मेसिन हस्तान्तरण

७ प्रदेशलाई प्रदान गरियो १४ मेसिन

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२०

लन्डन । नेपालमा ‘कोभिड १९’ संक्रमितको उपचारमा सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बाग्मती प्रदेश सरकारलाई पनि अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशका लागि फोकल पर्सन तोकिएका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई दुई थान अक्सिजन मेसिन बिहीबार हस्तान्तरण गरिएको हो ।

एनआरएनए यूकेले सहयोगस्वरुप पठाएका अक्सिजन मेसिन नेपालस्थित पत्रकार डण्ड गुरुङले मन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए 

एनआरएनए यूकेले प्रदान गरेका मेसिन बुझ्दै मन्त्री गुरुङले सहयोगका लागि धन्यवाद ज्ञापन गरे । आवश्यकता हेरेर जिल्ला अस्पतालहरुमा ती मेसिन पठाउने प्रबन्ध मिलाउने उनले जानकारी गराए ।

नेपालका सातवटै प्रदेशमा दुई दुई थान अक्सिजन मेसिन पठाउने योजनाअन्तर्गत यसअघि अन्य सबै प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरण गरिसकिएको थियो ।  

बिहीबार बाग्मती प्रदेशमा हस्तान्तरण भएपछि देशका सात प्रदेशलाई जम्मा १४ मेसिन बांडिएको  छ ।  

एनआरएनए यूकेले पठाएका अक्सिजन मेसिन सम्बन्धित प्रदेश सरकारहरुलाई हस्तान्तरणका लागि एनआरएनए यूकेका प्रमुख संरक्षक मे (रि) डमर घले र पत्रकार डण्ड गुरुङले संयोजनकारी भूमिका निभाएका थिए ।

कोभिड महामारीका बेला नेपाली सामुदायको सहयोगका लागि भन्दै एनआरएनए यूकेले संचालन गरेको सहयोग अभियानअन्तर्गत उठेको रकमबाट नेपालमा अक्सिजन मेसिन पठाइएको हो ।

एक मेसिनको ८४ हजार रुपियाको दरले कुल १४ मेसिनको लागि झन्डै ११ लाख रुपिया खर्च भएको बताइएको छ । जसमध्ये सुदुरपश्चिम प्रदेशको लागि दिइएका दुई मेसिनको खर्च भने स्कटल्यान्ड राज्य समन्वय परिषदले व्यहोरेको हो ।  

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले संस्थाको अभियानमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था एवम् सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् ।  

बेलायतका नेपालीहरुले सद्भावस्वरुप पठाएका अक्सिजन मेसिनबाट नेपालमा कोभिड महामारीका बेला सानै भएपनि सहयोग पुग्ने उनको आशा छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू