आइतबार, १९ जुलाइ, २०२६
21:58 | ०२:४३

वान आरजीआरले जित्यो सातौं ग्रीनवीच भलिबल कप उपाधि

नेपाली लिङ्क जुलाइ १९, २०२६

लन्डन- ग्रीनवीच भलिबल परिवार यूकेको आयोजनामा सम्पन्न सातौं यूकेव्यापी भलिबल प्रतियोगिताको उपाधि ‘वान आरजीआर’ भलिबल क्लबले जितेको छ ।

शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्कमा सञ्चालित ग्रीनवीच भलिबल कप २०२६ को मुख्य विधामा सहभागी ८ टोलीमध्ये सर्वोत्कृष्ट बन्दै वान आरजीआर च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा प्रतिस्पर्धात्मक फाइनल खेलमा वान आरजीआरले अल्डरसट भलिबल क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत चार टोली सहभागी भेटेरान विधामा आयोजक ग्रीनवीच भलिबल परिवारकै भेटेरान टोली विजेता बन्यो । फाइनलमा ग्रीनवीचसंग पराजित बेजिङस्टोकले उपविजेतामा चित्त बुझायो ।

त्यस्तै, प्रतियोगिताको महिला विधातर्फको उपाधि मोना यूकेको महिला टीमले जित्यो भने उपविजेता बेजिङस्टोक महिला टीम बन्यो ।

प्रतियोगिताको मुख्य विधामा उपाधि विजेता वान आरजीआर भलिबल क्लब अल्डरसट भलिबल क्लबले नगद १ हजार ७ सय पाउण्डसहित रनिङ शिल्ड, ट्रफी, प्रमाणपत्र र मेडलसहितको पुरस्कार प्राप्त गरयो । उपविजेता अल्डरसट भलिबल क्लबलाई नगद १ हजार पाउण्ड नगदसहित ट्रफी, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरियो ।

त्यस्तै भेटेरान विधाको विजेता ग्रीनवीच भलिबल परिवार र उपविजेता बेजिङस्टोकले क्रमशः १ हजार पाउण्ड र ६ सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे ।

महिलातर्फको विजेता मोना र उवपिजेता बेजिङस्टोकलाई पनि क्रमशः १ हजार पाउण्ड र ६ सय पाउण्ड नगदसहितको पुरस्कार प्रदान गरियो ।

प्रतियोगिता समापन समारोहमा विशेष अतिथि काउन्सिलर गौमाया गुरुङ, पूर्व मेयर काउन्सिलर जीत रानाभाट, आयोजक ग्रीनवीच भलिबल परिवार यूकेका अध्यक्ष उमेश चन्द ठकुरी, प्रतियोगिता संयोजक एवम् संस्थाका संस्थापक अध्यक्ष रविन्द्र रोका, संरक्षक विनोद ज्ञवालीलगायतले विजेता टीम तथा खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

यसअघि बिहान प्रतियोगिताको उद्घाटन स्थानीय ग्रीनवीच बरोका मेयर डेभिड गार्डनरले गरेका थिए ।

समापन समारोहमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी, प्रायोजक एवम् साझेदारहरुलाई आयोजकका तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।

साउथ इष्ट लन्डनस्थित भलिबलप्रेमी नेपालीहरुको सक्रियतामा सन् २०१७ मा स्थापना भएको थियो ग्रीनवीच भलिबल परिवार यूके । संस्थाले सन् २०१९ देखि हरेक वर्ष बेलायतव्यापी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

संस्थापक अध्यक्ष रविन्द्र रोकाले बेलायतमा रहेका नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्नका साथै व्यक्तिगत स्वास्थ्य प्रवर्द्धनसमेतको लक्ष्य राखेर प्रतियोगिता शुरु गरिएको बताए। संरक्षक विनोद ज्ञवालीले बेलायतभरकै नेपाली समुदायमा भलिबल खेललाई प्रवर्द्धन गर्न ग्रीनवीच भलिबल परिवारले महत्वपूर्ण योगदान पुरयाएको बताए।

अध्यक्ष उमेश चन्द ठकुरीले प्रतियोतिाको सातौं संस्करण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै खेलाडी, टीम, प्रायोजक तथा सहयोगीप्रति आभार प्रकट गरे।

लन्डन र अल्डरसट, रेडिङ, बेजिङस्टोकलगायतका क्षेत्रबाट समेत भलिबल टीमहरुको सहभागिता रहेको प्रतियोगिताका खेलहरु हेर्न दर्शकको समेत उल्लेख्य उपस्थिति थियो।

फाइनल खेल शुरु हुनुअघि स्थानीय कलाकार आयुष्मा थापाले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। प्रतियोगितास्थलमा टपरी मःम रेष्टुरेन्टले नेपाली खानाको स्टल समेत राखेको थियो।

सोही अवसरमा आयोजक ग्रीनवीच भलिबल परिवारले ग्रीनवीचकप भलिबल प्रतियोगिताको सातौं वार्षिकोत्सव समेत मनाएको छ । यस वर्षको प्रतियोगितालाई पोखरा भाइब्स रेष्टुरेन्ट, मगर संघ साउथ इष्ट लन्डन, साउथ इष्ट रिजनल तमुधिं लन्डन, जमघट परिवार, भोजनम रेष्टुरेन्ट, माइला बिल्डर्सलगायतले प्रायोजन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू