बिहीबार, चैत १५, २०८०
10:34 | १६:१९

बेलायत प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

नेपाली लिङ्क मे २२, २०२०

लण्डन । आउँदो जुन ८ तारिखदेखि अन्य मुलुकबाट बेलायत आउनेहरु अनिवार्य रुपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टिन’ बस्नुपर्ने भएको छ ।

शुक्रबारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले ‘क्वारेन्टिन’ को नयाँ नियम घोषणा गरेकी हुन् ।

‘समर सिजन’ मा बेलायत घुम्न आउने तथा अन्य मुलुक घुमेर फर्किनेहरुबाट भाइरस भित्रिने जोखिम रहेको भन्दै ‘क्वारेन्टिन’ अनिवार्य गर्न लागिएको मन्त्री पटेलले बताइन् ।

१४ दिने अनिवार्य ‘क्वारेन्टिन’ को नियम आयरल्याण्डबाट आउनेहरुको लागि लागू हुनेछैन । त्यस्तै, कोरोनाभाइरसविरुद्धको उपचारमा सहयोग गर्न आउने स्वास्थ्यकर्मीहरुको लागि पनि ‘क्वारेन्टिन’ बस्नुपर्ने छैन ।

‘क्वारेन्टिन’ को नयाँ घोषणा बेलायतभरका लागि गरिएको हो । तर स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले आफ्नो छुट्टै व्यवस्था गर्न सक्नेछन् ।

‘क्वारेन्टिन’ को नियम उल्लंघन गर्नेलाई १ हजार पाउण्डसम्मको जरिवाना हुने गृहमन्त्री पटेलले घोषणा गरेकी छन् ।

बेलायत प्रवेश गर्ने क्रममा यात्रुहरुले ‘बोर्डर फोर्स’ लाई आफ्नो घरको ठेगाना उपलब्ध गराउनुपर्नेछ । १४ दिनभित्रको अवधिमा उनीहरुको घर निरिक्षण गर्दा ‘सेल्फ क्वारेन्टिन’ उल्लंघन गरेको पाइएमा कारबाही गरिनेछ ।

साथै, बोर्डर फोर्सलाई विदेशी नागरिकहरुलाई देश प्रवेश गर्न नदिएर ‘डिपोर्ट’ गर्न सक्नेसम्मको अधिकार दिइएको छ ।

विश्वका अन्य कतिपय मुलुकले यसअघि नै बाहिरी मुलुकबाट देश प्रवेश गर्नेलाई ‘सेल्फ क्वारेन्टिन’ को नियम लागू गरिसकेका छन् । बेलायतमा संक्रमण ओरालो लाग्न थालेपछि मात्रै यो नियम ल्याइएको छ ।

लकडाउनकै अवधिमा समेत लाखौं मानिसहरु बेलायत प्रवेश गरेको ठानिएको छ । महामारीले विकराल रुप नलिंदै ‘सेल्फ क्वारेन्टिन’ को नियम लागू गरेको भए संक्रमण रोक्न सजिलो हुन्थ्यो भनेर धेरैले गरेको तर्क सरकारले भने अस्वीकार गर्दै आएको छ ।

यसैबीच, सरकारले घोषणा गरेको अनिवार्य ‘सेल्फ क्वारेन्टिन’ को नियमले देशको अर्थतन्त्रमा थप हानी पुर्याउने भन्दै सरोकारवाला व्यवसायीहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू