बेलायतका एअरपोर्टमा नयाँ नियम लागू, १५ लाख बालबालिकालाई लाभ

लन्डन- यदि तपाईं बेलायतमा बस्नुहुन्छ र साना बालबालिकासँग विदेश यात्रा गर्ने योजना बनाइरहनुभएको छ भने, तपाईंका लागि एउटा महत्वपूर्ण खबर छ । बेलायतले विमानस्थलमा लागू हुने एउटा नियम परिवर्तन गरेको छ, जसले करिब १५ लाख बालबालिका र उनीहरूका परिवारलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
अबदेखि ८ र ९ वर्ष उमेरका बालबालिकाले पनि विमानस्थलका ई–गेट अर्थात् स्वचालित पासपोर्ट जाँच प्रणाली प्रयोग गर्न पाउने भएका छन् ।
यसअघि भने १० वर्ष वा त्यसभन्दा माथिका यात्रुहरूलाई मात्रै ई–गेट प्रयोग गर्ने अनुमति थियो ।
तर, यो सुविधा प्रयोग गर्न केही सर्तहरू भने पूरा गर्नुपर्नेछ । बालबालिका कम्तीमा १ सय २० सेन्टिमिटर अग्लो हुनुपर्छ, उनीहरूसँग बायोमेट्रिक पासपोर्ट हुनुपर्छ र उनीहरू वयस्क अभिभावक वा संरक्षकसँगै यात्रा गरिरहेका हुनुपर्छ ।
बेलायत सरकारले यो निर्णयले करिब १५ लाख थप बालबालिकालाई ई–गेट प्रयोग गर्ने सुविधा मिल्ने र विशेषगरी गर्मीयामको व्यस्त बिदा सिजनमा विमानस्थलमा हुने लामो लाइन घटाउन मद्दत पुग्ने जनाएको छ ।
यसअघि साना बालबालिकाले ई–गेट प्रयोग गर्न नपाउँदा, उनीहरूसँग यात्रा गर्ने सम्पूर्ण परिवारले म्यानुअल पासपोर्ट जाँचका लागि छुट्टै लाइनमा बस्नुपर्ने अवस्था थियो । जसका कारण विमानस्थलमा समय धेरै खर्चिनुपर्ने र विशेषगरी छुट्टीको समयमा यात्रुहरूलाई थप असहजता हुने गरेको थियो । अब भने योग्य बालबालिकाले परिवारसँगै ई–गेटबाट छिटो सीमा जाँच पार गर्न सक्नेछन्। यसले यात्रालाई अझ सहज, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
बेलायतका विमानस्थलहरूमा हरेक वर्ष करोडौं यात्रु आवतजावत गर्ने भएकाले छुट्टीको समयमा पासपोर्ट जाँचका लागि लामो लाइन लाग्नुपर्ने बाध्यता छ । नयाँ व्यवस्थाले यात्रुको भीड व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यससँगै सीमा जाँच प्रक्रिया छिटो हुने भएकाले परिवारसहित यात्रा गर्नेहरूलाई विशेष राहत मिल्ने विश्वास गरिएको छ ।
यो नयाँ व्यवस्था बर्मिङ्घम, ब्रिस्टल, कार्डिफ, इस्ट मिडल्यान्ड्स, एडिनबरा, ग्याटविक, ग्लास्गो, हिथ्रो, लन्डन सिटी, लुटन, म्यानचेस्टर, न्युक्यासल र स्टान्स्टेड गरि १३ विमानस्थलमा लागू गरिएको छ । त्यस्तै, युरोस्टार र युरोटनेल जस्ता अन्तरदेशीय यात्रा सेवामा पनि यो व्यवस्था लागू गरिएको छ।
बेलायतका अधिकारीहरूका अनुसार यसले यात्रुहरूको समय बचाउने मात्र होइन, सीमा सुरक्षा अधिकारीहरूलाई उच्च जोखिम भएका यात्रुमाथि बढी ध्यान केन्द्रित गर्न पनि सहयोग पुग्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


