शुक्रबार, चैत १६, २०८०
08:15 | १४:००

तत्काल खुकुलो हुनेछैन बेलायतको ‘लकडाउन’

दोस्रो 'पिक'को जोखिम मोल्न चाहन्न सरकार

नेपाली लिङ्क अप्रिल २२, २०२०

सरकारको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री डोमिनिक राबले बेलायतको ‘लकडाउन’ तत्काल खुकुलो हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

लण्डन । बेलायतमा जारी ‘लकडाउन’ तत्काल खुकुलो हुने सम्भावना नरहेको सरकारको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री डोमिनिक राबले बताएका छन् ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री राबले बुधबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै सरकार दोस्रो ‘पिक पोइन्ट’को जोखिम मोल्न तयार नरहेको स्पष्ट पारेका छन् ।

अहिले नै ‘लकडाउन’ खुकुलो पार्दा संक्रमणका नयाँ केसहरु फेरि उत्कर्षमा पुग्ने आशंका सरकारको छ । सोहि खतरा टार्नकै लागि पनि ‘लकडाउन’ जारी राख्नुको विकल्प नरहेको मन्त्री राबले बताए । उनले भने, ‘हामी अझै पनि खतराबाट पार भइसकेका छैनौं ।’

हतारमा ‘लकडाउन’ खुकुलो पार्दा संक्रमण फेरि तीव्र रुपमा फैलिने र दोस्रो ‘लकडाउन’ जारी गर्नुपर्ने अवस्था आउन सक्ने जोखिम मन्त्री राबले औंल्याए । त्यस अवस्थामा देशमा लामो समयसम्म आर्थिक संकट कायम रहने भएकाले अहिले नै ‘लकडाउन’को बारेमा पुनर्विचार हुन नसक्ने उनको भनाइ थियो ।

सोहि अवसरमा सरकारका प्रमुख मेडिकल सल्लाहकार क्रिस ह्विटीले पनि तत्काल जनजीवन समान्य बन्ला भनेर अपेक्षा गर्ने बेला आइनसकेको धारणा राखे । नयाँ संक्रमणहरु चाँडै नै आशा गरिएअनुसार नघट्ने बताउँदै उनले ‘सोसल डिस्टेन्सिङ’ अझै लामो समय आवश्यक पर्ने बताए ।

कोरोनाविरुद्धको खोप वा औषधिको विकासबिना महामारी पूर्ण रुपमा निर्मुल हुन नसक्ने तथा अर्को वर्षभित्रै त्यो अवस्था बन्ने झिनो सम्भावना रहेको उनको भनाइ छ ।

लण्डनमा ‘पिक पोइन्ट’ पार भएको र नयाँ संक्रमणका ‘केस’हरु ओरालो लाग्न थालेको तथ्यांकहरु आउँदै गर्दा सरकारी अधिकारीहरुले भने तत्काल ‘लकडाउन’ नहट्ने सन्देश दिएका छन् । हतारमा ‘लकडाउन’ खुकुलो गर्दा फेरि संक्रमण बढ्दै जाने जोखिम अझै कायम रहेकाले अहिले नै धेरै आशा गर्न नसकिने सरकारको तर्क छ ।

बेलायतमा मृतक १८ हजार पुगे

बेलायतमा कोरोना भाइरस (कोभिडड-१९) बाट मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ ।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट बेलायतको अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । हालसम्म बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना कोरोनाबाट संक्रमित छन् । जसमध्ये गएको २४ घन्टामा ४ हजार ४ सय ५१ जनासंक्रमित थपिएका छन् ।

तर, विभिन्न अध्ययनले हाल जारी गरिएको तथ्यांक भन्दा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बर भन्दा पनि बढी भएको समेत दाबी गरेका छन् ।

राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले अप्रिल २३ सम्ममा मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी भएको तथ्यांक सार्वजनिक गरेको थियो भने ‘फाइनान्सियल टाइम्स’ले बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४१ हजार भन्दा बढी भएको तथ्यांक प्रस्तुत गरेको छ ।

जसमा कोरोनाका कारण अस्पतालका साथै ‘केयर होम’, ‘प्राइभेट रेसिडेन्स’ लगायत मृतकलाई पनि समावेश गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू