सोमबार, ९ नोभेम्बर, २०२६
20:08 | ०१:५३

२४ सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन

रासस नोभेम्बर ९, २०२६

काठमाडौँ — गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुनेगरी अनुशासित रूपमा देउसी भैलो सञ्चालन गर्न निर्देशन दिएको हो ।

देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिनु र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । आज सचिवस्तरीय निर्णयबाट सो निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत आनन्द न्यौपानेद्वारा जारी पत्रमा उल्लेख छ ।

विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिन, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न, मादक पदार्थ/लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम/ध्वनि उपकरणको प्रयोग नगर्न तथा अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू