लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा अनावरण


लन्डन । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज (गनेश) पौडेलले लन्डनस्थित नेपाली दूतावासमा भगवान् गौतम बुद्धको प्रतिमा अनावरण गरेका छन्।
नेपाली दूतावासद्वारा बुधबार आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रमका अवसरमा मन्त्री पौडेलले प्रतिमा अनावरण गरेका हुन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झा, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलगायत नेपाल र बेलायतका पर्यटन व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना गर्नु नेपाललाई गौतम बुद्धको जन्मभूमिका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा नेपालको बौद्ध सम्पदा र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भगवान् गौतम बुद्धलाई नेपालका शान्ति र करुणाका विश्वदूतका रूपमा उल्लेख गरे। उनले बुद्धको सार्वभौमिक शान्ति, करुणा र सद्भावको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन यस्ता पहल महत्वपूर्ण हुने बताए।
कार्यवाहक राजदूत विपिन दुवाडीले बुद्ध प्रतिमा स्थापना गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलको प्रशंसा गर्दै नेपालको बौद्ध सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न संघले पुर्याएको योगदानको सराहना गरे।

विश्वभर १० वटा बुद्ध प्रतिमा स्थापना गर्ने लक्ष्य
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को पहलमा एनआरएनए यूके, बुद्ध फाउन्डेसन यूके तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न भएको हो। नेपाल पर्यटन बोर्डले प्रतिमा नेपालबाट बेलायतसम्म ल्याउन आवश्यक सहयोग गरेको थियो।
एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले परियोजनाको नेतृत्व तथा समन्वय गरेका हुन्।
सापकोटाका अनुसार लन्डनस्थित नेपाली दूतावासमा स्थापना गरिएको प्रतिमा एनआरएनएको विश्वव्यापी अभियानअन्तर्गत पहिलो हो। संघले विभिन्न देशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगमा थप बुद्ध प्रतिमा स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
लन्डनपछि पोर्चुगलस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना गर्ने तयारी भइरहेको छ। अन्य देशका नेपाली कूटनीतिक नियोगमा पनि सम्बन्धित आवश्यकता र प्राथमिकताका आधारमा प्रतिमा स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ।
एनआरएनएले आफ्नो आन्तरिक स्रोत परिचालन, मूर्तिकारसँग समन्वय तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागितामा विश्वभरका नेपाली दूतावासमा कुल १० वटा बुद्ध प्रतिमा स्थापना गर्ने लक्ष्य राखेको छ।
यसै अभियानअन्तर्गत एनआरएनए अस्ट्रेलियासँगको सहकार्यमा अस्ट्रेलियास्थित ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनमा थप ६.२ इन्चको धातुबाट निर्मित बुद्ध प्रतिमा स्थापना गर्ने योजना पनि छ।
अभियानको मुख्य उद्देश्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल तथा आध्यात्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा प्रवर्द्धन गर्नु रहेको एनआरएनएको भनाइ छ ।
यसका लागि एनआरएनएले नेपाल पर्यटन बोर्ड तथा बुद्ध सर्किटअन्तर्गतका विभिन्न स्थानीय सरकारसँग सहकार्य गर्दै नेपालको बौद्ध सम्पदा, धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने प्रयास गरिरहेको छ।
९० भन्दा बढी देशमा सञ्जाल रहेको एनआरएनएले नेपाली पर्यटन, संस्कृति, सम्पदा, लगानी तथा अन्तर्राष्ट्रिय साझेदारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना हुनु नेपालको सांस्कृतिक पहिचान, बौद्ध सम्पदा तथा कूटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने महत्वपूर्ण उपलब्धि भएको बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले जनाए ।
यस अभियानले भगवान् बुद्धको शान्ति, करुणा र सद्भावको सन्देश विश्व समुदायसम्म पुर्याउने अपेक्षा श्रेष्ठको छ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



