सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

मस्को, २६ मङ्सिर–रुसले राष्ट्रसंघीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहोरयाएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको पनि बताएको छ ।
हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताएका हुन् ।
आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक हो, भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कूटनीतिक अनुभव छ,” उनले भने ।
भारतले संयुक्त राष्ट्रसंघमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने तथा साङ्घाइ सहयोग संगठन (एससीओ) भित्र पनि दक्षिण एसियामा एकीकरण संरचनाको दायरा विस्तार गर्नसक्ने बताउँदै रुसी विदेशमन्त्रीले भारतलाई परिषद्को स्थायी सदस्यता बनाउँदै विश्व संस्थाको महत्वपूर्ण अंग अझ लोकतान्त्रिक हुने विचार व्यक्त गरे ।
यसअघि पनि विदेशमन्त्री लाभरोभले राष्ट्रसंघको ७७ औँ महासभालाई सम्बोधन गर्ने क्रममा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देश सुरक्षा परिषद्मा समावेश भएमा परिषद् थप लोकतान्त्रिक एवम् सुदृढ हुने अभिमत जाहेर गरेका थिए । महासभामा उनले विशेष गरी भारत र ब्राजिल प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरूलाई परिषद्को स्थायी सदस्यता प्रदान गर्नुपर्ने बताएका थिए ।
१५ राष्ट्र सदस्य रहेको परिषद्का पाँच स्थायी सदस्यमध्ये अमेरिका, बेलायत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन त्यसमा मौन छ । सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा भारतको दुई वर्षको कार्यकाल यही महिना समाप्त हुँदैछ । चक्रीय प्रणालीअन्तर्गत अहिले भारतले परिषद्को अध्यक्षता गरिरहेको छ ।
यसअघि पनि संयुक्त राष्ट्रसंघका लागि बेलायती राजदूत बारबरा वुडवर्डले भारत, जर्मनी, जापान र ब्राजिलका लागि नयाँ स्थायी सदस्यता प्रदानका साथै परिषद्मा स्थायी अफ्रिकी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी थिइन् ।
राष्ट्रसंघीय महासभाको पूर्ण बैठकमा फ्रान्सले पनि सुरक्षा परिषद्को प्रभावकारिताका निम्ति सदस्य सङ्ख्यामा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अभिमत जाहेर गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



