मंगलबार, १७ फ्रेब्रवरी, २०२६
12:59 | १८:४४

अरनिको अन्तरराष्ट्रिय पुरस्कार ‘रुइबा’ उपन्यासलाई

नेपाली लिङ्क डिसेम्बर ८, २०२२

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले २०७८ को ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ चीनमा स्थायी बसोवास गर्दै आएका साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’ नामक कृतिलाई दिने निर्णय गरेको छ ।

तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेशमार्फत् गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्ष बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिहरुलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ ।

उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ । कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।

यसअघि समितिले पुरस्कारकालागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ राईको ‘यादको सन्दुक ‘ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) संलग्न थिए ।

आज सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’ को बैठकले उक्त सिफारिससँगै पुरस्कारका लागि ‘रूइबा’लाई अनुमोदन गरेको छ ।

गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान  गरिंदै आएको छ ।

उक्त पुरस्कार पहिलोपटक वि. सं. २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू