शान्ति नेपाली समाज बेलायतको नेपाल शाखा गठन, अध्यक्षमा सांसद सिद्धिकी

लन्डन- बेलायतको बर्मिङहम क्षेत्रका नेपालीहरुको संस्था शान्ति नेपाली समाज बेलायतको नेपाल शाखा गठन भएको छ। बेलायतबाट नेपाल गएका संस्थाका अध्यक्ष राजेशमणि लामिछानेको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भेलाले प्रतिनिधिसभा सदस्य तथा मानव अधिकारकर्मी साजिदा खातुन सिद्धिकीको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा वैदेशिक रोजगार विज्ञ बलराज तामाङ, महासचिवमा व्यवस्थापन विज्ञ तथा योजनाविद् प्रवेश अर्याल, सचिवमा पर्यटन व्यवसायी कृष्ण आचार्य, कोषाध्यक्षमा वैदेशिक शिक्षा विशेषज्ञ तथा समाजसेवी नारद सापकोटा र प्रवक्तामा सञ्चारविज्ञ जङ्ग तामाङ चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा समाजसेवी चन्द्रशेखर तिमिरे, व्यवसायी सरिता गुरुङ, समाजसेवी सृजना श्रेष्ठ (पोखरा), आईटी विज्ञ नारायण ढकाल (बुटवल) र लक्ष्मी कुमारी गिरी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष साजिदा खातुन सिद्धिकीले नेपालमा विभिन्न विपत्तिका बेला शान्ति नेपाली समाज बेलायतले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेकी छन्। उनले शिक्षा तथा पूर्वाधार विकासमा संस्थाले खेलेको भूमिकाको सराहना गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनाको महत्त्वमाथि प्रकाश पारिन्।
उपाध्यक्ष बलराज तामाङले शान्ति नेपाली समाज बेलायतजस्ता संस्थाहरू नेपालको विकासका संवाहक बन्न सक्ने विश्वास व्यक्त गरे। महासचिव प्रवेश अर्यालले नेपाली संस्कार, संस्कृति र देशविदेशमा हुर्किरहेको नयाँ पुस्ताबीच सम्बन्ध स्थापित गर्न संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
सचिव कृष्ण आचार्यले विदेशमा रहेका नेपाली नयाँ पुस्तालाई स्वदेश फर्कन सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको बताए। कोषाध्यक्ष नारद सापकोटाले युवाहरूको ठूलो हिस्सा विदेशमा रहँदा नेपालको समृद्धिमा चुनौती थपिने उल्लेख गर्दै विदेशमा अध्ययन, सीप आर्जन र अनुभव हासिल गरेका नेपालीलाई देशको विकासमा जोड्नुपर्ने धारणा राखे। उनले वंशजको नागरिकताको निरन्तरताको आवश्यकतामाथि समेत जोड दिएका छन्।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेशमणि लामिछानेले शान्ति नेपाली समाज बेलायत सन् २०१२ अक्टोबरमा बेलायतको मिडल्यान्डस्थित बर्मिङहम आसपास बसोबास गर्ने नेपालीबीच आपसी भाइचारा, सहयोग र एकता कायम गर्ने उद्देश्यले स्थापना भएको जानकारी दिए।
उनले संस्था स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति, चाडपर्व, परम्परा, संस्कार, भेषभूषा र रहनसहनको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको बताए। बेलायतमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली पहिचान र संस्कृतिसँग जोड्दै नेपाली समुदायको एकता कायम गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले उल्लेख गरे।
नेपालमा प्राकृतिक विपत्ति आइपर्दा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताउँदै अध्यक्ष लामिछानेले आगामी दिनमा पनि मातृभूमिप्रतिको जिम्मेवारी निरन्तर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल शाखा गठनले विशेषगरी मातृभूमिलक्षित सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न थप सहज हुने विश्वास उनको छ।
सो अवसरमा संस्थाका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्य, महासचिव शशांक शर्मा, प्रमुख सल्लाहकार कोशलेश्वर ढकाल र संरक्षक ठाकुरप्रसाद ज्ञवालीलगायतले नवनिर्वाचित कार्यसमितिलाई भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए।
यसै अवसरमा शान्ति नेपाली समाज बेलायतको नेपाल शाखाको कार्यालय काठमाडौंको कालिमाटीडोल, एयरपोर्ट क्षेत्रमा पुनःस्थापना गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



