लन्डनमा क्यान्सर सचेतना कार्यक्रम, रोग जितेका महिलाले सुनाए प्रेरणादायी कथा


लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो रोग जितेकाहरुले सुनाएका छन् ।
लन्डनका सफल व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले शनिबार लन्डनमा आयोजना गरेको ‘द पिंक अक्टोबर ब्रेष्ट क्यान्सर अवेरनेस’ कार्यक्रममा क्यान्सर जितेका महिलाहरुले यस्तो अनुभव सुनाएका हुन् ।
‘पिंक अक्टोबर’ एक अन्तर्राष्ट्रिय स्वास्थ्य अभियान हो, जुन स्तन क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान र अनुसन्धानका बारेमा जनचेतना जगाउन हरेक अक्टोबर महिनामा सञ्चालन गरिन्छ ।
१४ महिना अवधिमा स्तन क्यान्सरबाट निको भएर आफ्नो पूर्ववत जीवनमा फर्किएकी सुस्मिता याक्सो कन्दङ्वाले चिकित्सकको निगरानीमा औषधि उपचार, शारिरिक अभ्यास, सकारात्मक सोच, परिवार र साथीभाईको माया अनि आत्मबलले क्यान्सर जितेको अनुभव बांडिन् । ‘अब त मर्छु’ भन्दै घरैभित्र रोएर नबसी समाजमा निस्किएर आफ्नो कुरा खुलस्त राख्न र सचेतना जगाउन पनि उनले सुझाइन् ।
अर्की सर्भाइभर क्रिस्टिनाले शुरुमा आफ्ना सन्तानको मायाले दुःखी महशुस भएपनि आत्मबलका साथ स्तन क्यान्सरलाई पराजित गरेको सुनाइन् । परिवारमात्र होइन्, आफ्नो काममा समेत पूर्ण साथ र माया पाउंदा आफूले यस रोगको पीडा भुलेको पनि उनले बताइन् ।
फाउण्डेशनकी महासचिव तथा ट्रष्टी लक्ष्मी (लारा) राईले गत अप्रिलमा आफ्नो स्तन क्यान्सरको पहिचान भएपछि अहिले औषधि उपचार गरिरहेको जनाउंदै संक्रमणबाट टाढा रहेर नियमित जागिर, होलिडे अनि सामाजिक गतिविधिमा सक्रिय भइरहेको सुनाइन् । ‘मैले यो रोग लुकाउनुभन्दा अरुलाई समेत सचेत गराउनु पर्छ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि देशविदेशबाट शीघ्र स्वास्थ्य लाभको कामया गरिएका सयौं म्यासेज पाइरहेकी छु । सबैको माया र साथले म यसलाई परास्त गर्छु भन्ने दृढ विश्वास मलाई छ’, उनले भनिन् ।
फाउण्डेशन अध्यक्ष फेसन व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी इलिङ सेन्ट्रल एण्ड एक्टन निर्वाचन क्षेत्रकी सांसद रुपा हकले समय समयमा स्वास्थ्य जांच गर्न र आफ्नो पीडा नलुकाइ खुलस्त भन्न सुझाव दिइन् । आफूलाई केही असहज महशुस भए तुरुन्त जिपीमा सम्पर्क गरिहाल्न उनले सुझाइन् ।
नेपाली समुदायले ब्रिटेनमा धेरै योगदान गरेको उल्लेख गर्दै उनले केही समस्या भए आफ्नो तर्फबाट पनि सहयोगका लागि पहल हुने प्रतिवद्धता व्यक्त गरिन् ।
सांसद हकले फाउण्डेशनका अध्यक्ष रविन्द्रजंग लामिछानेले यस्तो कार्यक्रम गरेर नेपाली समुदायमा सचेतना फैलाउन गरेको कार्य निकै प्रशंसनीय रहेको पनि बताइन् ।

विशेष अतिथी अर्का बेलायती सांसद तथा पूर्वमन्त्री किथ भाजले यस्ता उपयोगी कार्यक्रम निरन्तर गर्न आग्रह गर्दै व्यवसायी लामिछानेले बेलायत र नेपालबीच सम्बन्ध थप सुदृढ गर्न निकै योगदान दिएको स्मरण गरे । सांसद भाजले ब्रिटेनको अर्थतन्त्रमा योगदान गर्नेमध्ये लामिछाने दक्षिण एसियालीमूलका थोरै व्यवसायीमा पर्ने उल्लेख गर्दै उनलाई ‘काठमाडौंको स्टार’ का रुपमा समेत प्रशंसा गरेका थिए ।
ट्रष्टी लाराले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रस्मिता दर्लामी, कोपल्याण्ड केयर्सकी जनरल म्यानेजर बबिता लामा, क्रियटिभ्स् फोर कल्चरकी शान्ति राई, द गोर्खा सेन्टरका हरि भण्डारी एवं माया आउटरिच क्यान्सर सपोर्टकी माला गुरुङले क्यान्सर रोग र आफ्नो संस्थाले गरिरहेको सचेतना एवं सहयोगबारे अवगत गराए ।
उनीहरुले द लामिछाने फाउण्डेशनले महत्वपूर्ण कार्यक्रम गरेको बताउंदै संस्थालाई थप सफलताको कामना गरे ।
व्यवसायी महन्त श्रेष्ठ ‘ओबीइ’ ले समसामयिक विषयमा सचेतनामूलक कार्यक्रम गरेकामा फाउण्डेशनलाई धन्यवाद दिए ।
फाउण्डेशन अध्यक्ष व्यवसायी लामिछानेले सांसदहरुसहित सहभागी एवं सहयोगी सबैलाई धन्यवाद दिंदै आफूलाई भविष्यमा समाजसेवामा लाग्न अझ प्रेरणा मिलेको बताए ।
कार्यक्रममा फाउण्डेशनका तर्फबाट क्यान्सर जितेका महिला एवं अतिथीहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।
फाउण्डेशनले केही साताअघिमात्र भोटेकोशी बाढी पीडितका लागि करिब एक करोड ७ लाख रुपैयां सहयोग गरेको थियो ।
तस्विरहरुः बुलिट रोका


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



