काउन्सिलर गुरुङको पत्रमा नेपाललाई थप सहयोग गर्ने ब्रिटेनको जवाफ


लन्डन – बेलायत सरकारले नेपाल-चीन सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाललाई निरन्तर र प्रभावकारी सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
ब्रिटिश प्रधानमन्त्रीका तर्फबाट बेलायतको परराष्ट्र मन्त्रालयमा इन्डो-प्यासिफिक मामिला हेर्ने मन्त्री द ब्यारोनेस विन्टरटन अफ डोनकास्टरले काउन्सिलर लक्ष्य गुरुङलाई एक पत्र लेख्दै बेलायतको उक्त प्रतिबद्धताबारे जानकारी गराएकी हुन् ।
गत सेप्टेम्बरमा काउन्सिलर गुरुङले नेपाल-चीन सीमा क्षेत्रको बाढीबारे ब्रिटिश प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै पत्र लेखेका थिए । सोही पत्रको जवाफ दिँदै मन्त्री विन्टरटनले उक्त प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित, तिनका परिवार तथा बेलायतमा रहेका सम्बन्धित समुदायप्रति समवेदना प्रकट गरिन् ।
यूके सरकारले तत्काल मानवीय सहायताका लागि नेपाल सरकारलाई ५ मिलियन पाउण्ड (करिब ८५ करोड रुपैयाँ) उपलब्ध गराइसकेको साथै, नेपाल सरकारको माग र आवश्यकता अनुसार थप सहयोग गर्न पनि पूर्ण रूपमा तयार रहेको पत्रमा उल्लेख छ।
“नेपालमा तत्काल राहत र उद्धार कार्यका लागि बेलायतले ५ मिलियन पाउण्ड सहायता प्रदान गरिसकेको छ। हामी नेपाल सरकारसँग निरन्तर सम्पर्कमा छौँ र आगामी दिनमा आवश्यक पर्ने थप सहयोगका लागि पनि तयार छौँ,” पत्रमा भनिएको छ।
बेलायतले विश्व बैंक, रेडक्रसको ‘डिपार्टमेन्ट रिलिफ इमरजेन्सी फण्ड’, संयुक्त राष्ट्रसंघको ‘सेन्ट्रल इमरजेन्सी रिलिफ फण्ड’ तथा गैरसरकारी संस्था नेतृत्वको ‘स्टार्ट फण्ड’ मार्फत पनि नेपालमा तत्काल जीवनरक्षक सहायता पुर्याइरहेको जनाएको छ।
उनले हालै काठमाडौँको भ्रमण गरेकी मन्त्री विन्टरटनले बेलायती विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (FCDO) ले नेपालमा विपद् व्यवस्थापन र उद्धार कार्यमा पुर्याएको योगदानको प्रत्यक्ष अवलोकन गरेको समेत बताइन् ।
उनले बाढी प्रभावित क्षेत्रमा रहेका ब्रिटिश नागरिक तथा तिनका परिवारलाई २४ सै घण्टा कन्सुलर सहायता उपलब्ध गराइएको मन्त्रीले जानकारी दिइन् ।
ब्रिटिश सरकारले राष्ट्रसंघीय साधारण सभा तथा विश्व बैंकको वार्षिक बैठकका क्रममा पनि नेपाली मन्त्रीहरूसँग भेटघाट गरी सहयोगका विषयमा छलफल गरेको र दुई देशबीचको कूटनीतिक तथा मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको पनि उनले स्मरण गरेकी छिन् ।
द ब्यारोनेस विन्टरटन अफ डोनकास्टरले काउन्सिलर लक्ष्य गुरुङलाई लेखेको पत्र:


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



