शनिबार, १० अक्टोबर, २०२६
13:56 | १८:४१

विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न अब सहज

नेपाली लिङ्क अक्टोबर १०, २०२६

लन्डन- यदि तपाईं विदेशमा बसोबास गर्नुहुन्छ र नेपालमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने एउटा महत्वपूर्ण खबर छ ।

लामो समयदेखि गैरआवासीय नेपालीहरूले उठाउँदै आएको नेपालमा लगानी गर्ने सहज वातावरण निर्माणको मागलाई सम्बोधन गर्दै सरकारले धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावलीमा आठौँ संशोधन गरेको छ ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको नयाँ व्यवस्थाले गैरआवासीय नेपालीलाई लक्षित गरेर प्राथमिक बजारमा सेयर निष्कासन गर्ने बाटो खुला गरेको हो।

नयाँ व्यवस्थाअनुसार एनआरएनलाई लक्षित गरी सेयर निष्कासन गर्ने कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशतभन्दा कम नहुने र ८५ प्रतिशतभन्दा बढी नहुने गरी सेयर निष्कासन गर्न सक्नेछन् । तर यस्तो सेयर भने प्रिमियम मूल्यमा निष्कासन गर्न पाइने छैन ।

त्यस्तै, यसरी निष्कासन गरिएको सेयरको कारोबार धितोपत्र बजारले व्यवस्था गरेअनुसारको कारोबार प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ । यसलाई विदेशमा रहेका नेपालीका लागि नेपालको पुँजी बजारसँग जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

विशेषगरी बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरूले लामो समयदेखि आफूले विदेशमा कमाएको पूँजीलाई नेपालका उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने माग गर्दै आएका थिए ।

गैरआवासीय नेपालीहरुले सरकारको पछिल्लो कदमप्रति धन्यवाद व्यक्त गरेका छन् । यो निर्णयले नेपाल सरकार गैरआवासीय नेपालीप्रति सकारात्मक रहेको संकेत गरेको भन्दै आगामी दिनमा एनआरएनका अन्य मागहरू पनि क्रमिक रूपमा सम्बोधन हुने विश्वास उनीहरुको छ ।

गैरआवासीय नेपालीको पूँजी, ज्ञान र सीपलाई नेपालमा परिचालन गर्ने विषय लामो समयदेखि बहसमा छ । पछिल्लो संशोधनसँगै विदेशमा रहेका नेपालीलाई नेपालको पुँजी बजारमा थप प्रत्यक्ष रूपमा जोड्ने कानुनी आधार बनेको छ । यसले विदेशमा बस्ने नेपालीको पूँजी नेपाल भित्र्याउने मात्र होइन, नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको सहभागिता बढाउने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू