तेस्रो एनआरएनए कप २०२६ मा केन्ट एफसी च्याम्पियन, माया फेल्थाम एफसी उपविजेता
भेट्रान्समा प्लमस्टेड एफसी र महिला समूहमा भोटाङ एफसी विजयी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिद्वारा आयोजित तेस्रो एनआरएनए कप २०२६ शनिबार फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न भएको छ।
फुटबल प्रतियोगितासँगै नेपाली फेस्टिभलसमेत आयोजना गरिएको कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो। खेलकुद, नेपाली खाना, सांस्कृतिक प्रस्तुति तथा समुदायबीचको भेटघाटले कार्यक्रमलाई बृहत् सामुदायिक उत्सवको स्वरूप दिएको थियो।
प्रतियोगिताको मुख्य समूहमा केन्ट एफसी च्याम्पियन बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै केन्ट एफसीले उपाधि आफ्नो पक्षमा पार्दा माया फेल्थाम एफसी उपविजेता बनेको छ।
भेट्रान्स समूहमा प्लमस्टेड एफसीले उपाधि जितेको छ भने जोइन्ट एफसी उपविजेता बनेको छ। यस्तै, महिला समूहमा भोटाङ एफसी च्याम्पियन बन्दा तामाङ समाज यूके उपविजेता बनेको छ।
एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बूले गरेका थिए।
कार्यक्रममा काउन्सिलर इन्द्रहाङ लिम्बू, युवराज गुरुङ, ओम काउछा, डा. भीम पुन तथा महासेठलगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रदान गरिएका सम्पूर्ण ट्रफीहरूको व्यवस्थापन कार्यवाहक अध्यक्ष अनिल मल्लले व्यक्तिगत रूपमा गरेको आयोजकले जनाएको छ।
एनआरएनए यूके युवा समितिका अध्यक्ष विशाल राई, सचिव निशान पन्धाक र कोषाध्यक्ष सञ्जय लिम्बूको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यहरूले खेल व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन तथा कार्यक्रम सञ्चालनका विभिन्न जिम्मेवारी सम्हालेका थिए।
सोही अवसरमा फुटबल प्रतियोगिताको तर्टफबाट नेपालका भोटेकोशी बाढी पीडितको सहयोगार्थ करिब ५७ हजार रुपैयाँ संकलन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार एनआरएनए कपको मुख्य उद्देश्य खेलकुदमार्फत बेलायतमा रहेका नेपाली युवालाई एकताबद्ध गर्नु, नयाँ पुस्तालाई समुदायसँग जोड्नु तथा नेपाली समुदायबीच आपसी सम्बन्ध, सहकार्य र एकतालाई थप मजबुत बनाउनु हो।
फुटबलसँगै आयोजना गरिएको नेपाली फेस्टिभलमा विभिन्न नेपाली परिकारका स्टल, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक सहभागिताले थप रौनक थपेको थियो। प्रतियोगिता हेर्न आएका दर्शक तथा समुदायका सदस्यहरूले दिनभर फुटबलसँगै नेपाली खानपान र सांस्कृतिक वातावरणको आनन्द लिएका थिए।
कार्यक्रमको समापनमा एनआरएनए यूकेले विजेता तथा उपविजेता टोलीहरूलाई बधाई दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, रेफ्री, स्वयंसेवक, प्रायोजक, समर्थक तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


