मंगलबार, ८ सेप्टेम्बर, २०२६
16:57 | २१:४२

यूकेका हिथ्रोलगायत विमानस्थलमा प्राविधिक समस्या, सबै उडान ‘ग्राउन्डेड’, यात्रु अलपत्र

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२६

लन्डन ।  बेलायतको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या देखिएपछि हिथ्रो र ग्याटविकसहित यूकेभरका विमानस्थलबाट प्रस्थान गर्ने उडानमा व्यापक अवरोध सिर्जना भएको छ। उडानहरू रोकिँदा तथा लामो समयसम्म ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्।।

बेलायतको हवाई ट्राफिक नियन्त्रण सेवा प्रदायक नेसनल एयर ट्राफिक सर्भिसेजमा देखिएको गम्भीर प्राविधिक समस्याका कारण देशभरका विमानस्थलबाट हुने प्रस्थान उडानहरू ठूलो मात्रामा प्रभावित भएका छन्।

हिथ्रो विमानस्थलले प्रस्थान उडानहरूलाई अस्थायी रूपमा रोकेको जनाएको छ भने समस्या हिथ्रो र ग्याटविकमा मात्र सीमित नभई सम्पूर्ण बेलायतका विमानस्थलमा फैलिएको पुष्टि भएको छ।

हिथ्रो विमानस्थलका प्रवक्ताले भने, “हवाई ट्राफिक नियन्त्रण सेवा नेसनल एयर ट्राफिक सर्भिसेजमा देखिएको प्राविधिक समस्याले यूकेका विमानस्थलबाट प्रस्थान गर्ने उडानहरू प्रभावित भएका छन्। हालसम्म अवतरण गर्ने उडानहरूमा भने असर परेको छैन।”

समस्या समाधानका लागि स्थानीय नेसनल एयर ट्राफिक सर्भिसेज टोलीसँग मिलेर काम भइरहेको र थप जानकारी उपलब्ध हुनेबित्तिकै यात्रुलाई सूचित गरिने जनाइएको छ। यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा जाँच गर्नसमेत आग्रह गरिएको छ।

नेसनल एयर ट्राफिक सर्भिसेजले प्राविधिक समस्या देखिएको आधिकारिक रूपमा पुष्टि गर्दै इन्जिनियरहरू समस्या पहिचान तथा समाधानका लागि तत्कालै खटिएको जनाएको छ। यात्रामा पर्न गएको ढिलाइ र असुविधाप्रति क्षमायाचना गर्दै नेसनल एयर ट्राफिक सर्भिसेजले यात्रुले आफ्नो एयरलाइन्समार्फत मात्र उडानको अद्यावधिक जानकारी लिन सुझाव दिएको छ।

समस्याको असर लन्डनका विमानस्थलमा मात्र सीमित छैन। ग्याटविक, म्यानचेस्टर, लुटन, स्टान्स्टेडलगायत देशका ठूला विमानस्थलहरूमा समेत प्रस्थान उडानहरू प्रभावित भएका छन्। जर्सी विमानस्थलले पनि बेलायतसँगको सम्पर्कमा देखिएको समस्याका कारण आपसमा हुने उडानहरू प्रभावित भएको जनाएको छ।

ग्याटविक व्यवस्थापनले पनि नेसनल एयर ट्राफिक सर्भिसेजको प्राविधिक समस्याले प्रभावित भएको पुष्टि गर्दै यात्रुलाई एयरलाइन्ससँग जानकारी लिन आग्रह गरेको छ।

अचानक देखा परेको समस्याका कारण विमानस्थलहरूमा यात्रुहरूको भीड बढेको छ भने सयौँ यात्रु विमानभित्रै लामो समयसम्म रनवेमा प्रतीक्षा गर्न बाध्य भएका छन्। केही उडानहरू दुई घण्टाभन्दा बढी समयसम्म ढिला भएका छन्। एक यात्रुले हिथ्रोको रनवेमा करिब ९० मिनेट प्रतीक्षा गर्नुपरेको बताउनुभएको छ भने अर्का यात्रुले झन्डै दुई घण्टासम्म प्रतीक्षा गर्नुपरेको जनाउनुभएको छ।

हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको यो प्राविधिक खराबीले प्रस्थानतर्फ ठूलो अवरोध सिर्जना गरे पनि आगमनतर्फका उडान भने सामान्य रहेको सम्बन्धित निकायले जनाएको छ। समस्या कहिलेसम्म पूर्ण रूपमा समाधान हुन्छ र कति उडान प्रभावित भएका छन् भन्ने विस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन। यात्रुलाई एयरलाइन्सको आधिकारिक सूचनालाई मात्र विश्वास गर्नसमेत सुझाव दिइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू