शनिबार, २९ अगस्ट, २०२६
17:02 | २१:४७

बाढी प्रभावितको सहयोगार्थ बेलायतको ‘र्‍यापिड डिप्लोयमेन्ट टिम’ नेपाल पुग्दै

नेपाली लिङ्क अगस्ट २८, २०२६

लन्डन । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बेलायती नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न बेलायत सरकारले विशेष तालिमप्राप्त संकट प्रतिकार्य टोली ‘र्‍यापिड डिप्लोयमेन्ट टिम’ (आरडीटी) नेपाल पठाउने निर्णय गरेको छ।

उक्त टोली शनिबार २९ अगस्ट काठमाडौं पुग्नेछ। टोलीले काठमाडौंस्थित बेलायती दूतावासका कर्मचारी तथा नेपाली निकायसँग समन्वय गरी प्रभावित बेलायती नागरिकलाई थप कन्सुलर सहायता उपलब्ध गराउनेछ।

नेपालमा आएको बाढीले व्यापक जनधनको क्षति पुर्‍याउँदै हजारौँ मानिसलाई प्रभावित गरेपछि बेलायतले आफ्नो आपतकालीन प्रतिकार्यलाई थप विस्तार गरेको हो। यसअघि नै बेलायत सरकारले नेपालको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग गर्न ५० लाख पाउन्ड बराबरको मानवीय सहायता घोषणा गरिसकेको छ।

र्‍यापिड डिप्लोयमेन्ट टिमले नेपाल आउने तथा बाहिरिने बेलायती नागरिकलाई विमानस्थलमा आवश्यक सहायता उपलब्ध गराउनुका साथै बेपत्ता आफन्तबारे जानकारी खोजिरहेका परिवारलाई समेत सहयोग गर्नेछ। टोलीले नेपाली सरकारी निकाय तथा आपतकालीन उद्धारकर्तासँग समन्वय गर्दै काठमाडौंस्थित बेलायती दूतावासको विद्यमान कन्सुलर सेवालाई थप सुदृढ बनाउनेछ।

त्यस्तै, बेलायतमा रहेका र नेपालका बाढी प्रभावित क्षेत्रमा आफ्ना परिवार तथा आफन्तको अवस्थाबारे चिन्तित व्यक्तिहरूसँग पनि टोलीले समन्वय गर्ने जनाइएको छ।

र्‍यापिड डिप्लोयमेन्ट टिम विशेष रूपमा तालिमप्राप्त संकट प्रतिकार्य स्वयंसेवकहरूको टोली हो, जसलाई विदेशमा ठूलो विपद् वा आपतकालीन अवस्था उत्पन्न हुँदा छोटो सूचनामै परिचालन गर्न सकिन्छ।

बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले नेपालमा देखिएका विपद्का दृश्य अत्यन्तै दुःखद रहेको बताएका छन्। उनले बेलायती नागरिकहरूको सुरक्षा र कल्याण सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा उनीहरू तथा उनीहरूका परिवारलाई स्थलमै थप सहयोग उपलब्ध गराउन र्‍यापिड डिप्लोयमेन्ट टिम परिचालन गरिएको बताए।

मिलिब्यान्डका अनुसार बेलायती अधिकारीहरूले नेपाली निकाय, आपतकालीन उद्धारकर्ता तथा काठमाडौंस्थित बेलायती दूतावाससँग निकट समन्वयमा काम गरिरहेका छन्।

“प्रभावितहरूले आवश्यक सहयोग र सूचना प्राप्त गर्न सकून् भनेर हाम्रा कर्मचारी नेपाली अधिकारी, आपतकालीन उद्धारकर्ता र काठमाडौंस्थित हाम्रो दूतावाससँग निकट रूपमा काम गरिरहेका छन्,” उनले भने, “यस त्रासदीबाट प्रभावित बेलायती नागरिकलाई सहयोग गर्न हामीले सक्ने सबै प्रयास जारी राख्नेछौँ।”

बेलायतका प्रधानमन्त्रीले एक दिनअघि घोषणा गरेअनुसार नेपालमा आएको विनाशकारी बाढीपछिको राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न बेलायतले ५० लाख पाउन्डको सहायता प्याकेज उपलब्ध गराउँदैछ।

उक्त मानवीय सहायता नेपाल सरकारको विपद् प्रतिकार्यमा सहयोग पुर्‍याउन प्रयोग गरिनेछ। सहायता संयुक्त राष्ट्रसंघ, रेडक्रस तथा गैरसरकारी संस्थाहरूमार्फत सञ्चालन हुने राहत तथा पुनःस्थापना कार्यक्रमहरूमा समेत परिचालन गरिने जनाइएको छ।

बेलायतले विगत १५ वर्षदेखि जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्सँग जुध्ने नेपालको क्षमता र उत्थानशीलता अभिवृद्धिमा सहयोग गर्दै आएको र अहिले घोषणा गरिएको सहायता प्याकेज त्यसैको निरन्तरता भएको जनाएको छ।

विपद्को अवस्था व्यापक र जटिल रहेको भन्दै बेलायतले थप मानवीय सहायता विशेषज्ञहरू समेत परिचालन गरेको छ। आपतकालीन अवस्थामा विशेषज्ञ जनशक्ति चाँडै परिचालन गर्दा राहत तयारी, विभिन्न निकायबीचको समन्वय तथा निर्णय प्रक्रिया थप प्रभावकारी बनाउन सहयोग पुग्ने बेलायत सरकारको भनाइ छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू