बुधबार, २६ अगस्ट, २०२६
17:56 | २२:४१

लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना कार्यक्रम बाढीपहिरोका कारण स्थगित

नेपाली लिङ्क अगस्ट २६, २०२६

लन्डन । लन्डनस्थित नेपाली दूतावास परिसरमा आयोजना गर्ने तय गरिएको भगवान् शाक्यमुनि बुद्धको प्रतिमा अनावरण तथा स्थापना कार्यक्रम नेपालमा आएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपत्तिको गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत आगामी २९ अगस्ट २०२६, शनिबारका दिन नेपाली दूतावास, एनआरएनए राष्ट्रिय समन्वय परिषद् यूके तथा बुद्ध फाउन्डेसन यूकेको संयुक्त आयोजनामा उक्त विशेष समारोह आयोजना गर्ने तयारी गरिएको थियो।

दूतावासले एक वक्तव्य जारी गर्दै नेपालमा बाढीपहिरोले पुर्‍याएको अपूरणीय क्षति, जनधनको व्यापक नोक्सानी तथा उद्धार र राहतको यो कठिन घडीमा एनआरएनए आइसीसीको निर्णयअनुसार कार्यक्रम स्थगित गरिएको जनाएको छ। साथै, बाढीपहिरोका कारण ज्यान गुमाउनुहुनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता, घाइते र प्रभावित सम्पूर्णको शीघ्र उद्धार तथा राहतका लागि हार्दिक प्रार्थनासमेत गरेको छ।

यसअघि नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ दूतावास परिसरमा ३ फिट अग्लो सुनौलो रङको आसनस्थ बुद्ध प्रतिमा स्थापना गर्ने तयारी पूरा भइसकेको थियो।

‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’का परियोजना संयोजक तथा एनआरएनए आइसीसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार यस वर्ष बेलायतसहित पोर्चुगलको लिस्बनस्थित नयाँ नेपाली दूतावास र अस्ट्रेलियाको भिक्टोरियास्थित ‘द ग्रेट स्टुपा अफ युनिभर्सल कम्पासन’ लगायत विश्वका ११ वटा नेपाली कूटनीतिक नियोग तथा महत्त्वपूर्ण स्थानहरूमा बुद्ध प्रतिमा स्थापना गर्ने योजना रहेको छ।

दूतावासले कार्यक्रम स्थगनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अनुकूल समय प्राप्त भएपछि कार्यक्रमको नयाँ मिति र थप विवरण सार्वजनिक गरिने जानकारी दिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू