नेपाली विद्यार्थीका साझा समस्या सम्बोधन गर्न वेल्समा एकीकृत पहल

कार्डिफ । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्दै आएका विभिन्न समस्या पहिचान गरी समाधानका लागि साझा तथा एकीकृत पहल गर्ने उद्देश्यले वेल्सको कार्डिफमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
युनिभर्सिटी अफ साउथ वेल्सको सभाहलमा आयोजित कार्यक्रममा नेपाली विद्यार्थीहरूले बेलायतमा भोगिरहेका आवासीय, शैक्षिक, मनोसामाजिक तथा सांस्कृतिक समस्याका साथै ती समस्या समाधानका उपायबारे विद्यार्थी, प्राध्यापक, स्थानीय नेपाली सामुदायिक संस्था तथा सामाजिक अगुवाहरूबीच छलफल भएको थियो।
वेल्स क्षेत्रमा अध्ययनरत नेपाली विद्यार्थीहरूबाट समय–समयमा विभिन्न समस्यासम्बन्धी गुनासा बढ्दै गएपछि सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर समाधानका लागि साझा पहल सुरु गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक माइकल ब्राउनले सहभागीहरूलाई स्वागत गरेका थिए। विषय विज्ञका रूपमा ब्रिटेन नेपाल सोसाइटीका प्रमुख निक हिन्टन, मर्जिङ नेपसोकका पवन कँडेल, युनिकार्पका डा. रविन्द्र न्यौपाने, गैरआवासीय नेपाली संघ (एनआरएनए) वेल्सका डा. विकास रानाभाट, धर्म सांस्कृतिक अभियानका अध्यक्ष डा. थानेश्वर पाण्डेय, सामाजिक अगुवा रामचन्द्र पोखरेल, युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्यान्डका पुष्पराज पन्त तथा युनिभर्सिटी अफ साउथ वेल्सका विष्णुबहादुर खत्रीले प्रस्तुति दिएका थिए।
उनीहरूले बेलायतमा नेपाली विद्यार्थीहरूले सामना गरिरहेका साझा समस्या, तिनको सम्बोधनका लागि हालसम्म भएका प्रयास, उपलब्ध सेवा तथा आगामी दिनमा गर्न सकिने कामबारे आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्था तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता थियो। अन्तरक्रियामा शोभा राणा पोखरेल, डा. अमर मल्ल, रविन पौडेल, प्रकाश विष्ट, विभुषण श्रेष्ठ, बलराम अधिकारी, भोजराज रेग्मी, सूर्य ढकाल, कमल सिंह साउद, महेन्द्र तामाङ, प्रतीक रिमाल, सविना थापा, मनिश गैरे, अश्मिता सापकोटा, निर्मल बेडीलगायतले आफ्ना धारणा राखेका थिए।
गैरआवासीय नेपाली संघ वेल्स, नेपाली समाज वेल्स, धर्म सांस्कृतिक अभियान यूके, नेपाली पण्डित संघ यूके र इन्टरनेशनल नेप्लिज आर्टिस्ट सोसाइटी वेल्सलगायतका नेपाली सामुदायिक संस्थाले अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। कार्यक्रमको अन्त्यमा स्थानीय समाजसेवी शोभा राणा पोखरेलले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
नेपाली स्टुडेन्ट वेलफेयर सोसाइटी समन्वय कमिटी गठन
अन्तरक्रियापछि भेलाले नेपाली विद्यार्थीका समस्या पहिचान तथा समाधानका लागि युनिभर्सिटी अफ साउथ वेल्सका पीएचडी स्कलर विष्णुबहादुर खत्रीको संयोजकत्वमा ‘नेपाली स्टुडेन्ट वेलफेयर सोसाइटी, वेल्स’ को समन्वय कमिटी गठन गरेको छ।
कमिटीमा वेल्सका विश्वविद्यालय तथा विभिन्न नेपाली सामुदायिक संस्थाको प्रतिनिधित्व रहने गरी डा. विकास रानाभाट, शोभा राणा पोखरेल, सूर्य ढकाल, रविन पौडेल, कमल सिंह साउद, दीक्षा लोहनी, महेन्द्र तामाङ र रोहित मिश्रलाई सदस्य चयन गरिएको छ।
त्यस्तै, प्राध्यापक माइकल ब्राउन, निक हिन्टन, डा. रविन्द्र न्यौपाने, डा. थानेश्वर पाण्डेय, डा. पुष्पराज पन्त, पवन कँडेल, बलराम अधिकारी र डा. अमर मल्ललगायतलाई समेटेर सल्लाहकार समिति गठन गरिएको छ। आवश्यकता अनुसार समन्वय तथा सल्लाहकार समितिमा थप सदस्य समावेश गर्दै लगिने जनाइएको छ।
कार्डिफमा ‘स्टुडेन्ट वेलफेयर क्लिनिक’ सञ्चालन गर्ने योजना
नेपाली स्टुडेन्ट वेलफेयर सोसाइटी, वेल्सले आगामी दिनमा नेपाली विद्यार्थीहरूको बृहत्तर हितलाई केन्द्रमा राखेर भेटघाट, अन्तरक्रिया, परामर्श तथा अतिरिक्त क्रियाकलापसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ
विशेषगरी कार्डिफ र आसपासमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग तथा सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले ‘स्टुडेन्ट वेलफेयर क्लिनिक’ सञ्चालन गर्ने कार्ययोजना समेत अघि सारिएको छ।
सोसाइटीले नेपाली विद्यार्थीका साझा समस्या व्यक्तिगत तहमा समाधान गर्ने प्रयासमा मात्र सीमित नरही नीतिगत तहमा समेत पहल गर्ने जनाएको छ। त्यसका लागि विद्यार्थीहरूले भोगिरहेका समस्यामाथि अनुसन्धान गरी प्राप्त निष्कर्षका आधारमा नेपाल र बेलायत दुवै सरकारसमक्ष लिखित नीतिगत सुझाव पेस गर्ने योजना रहेको छ।
बहुसरोकारवाला छलफलका समन्वयकर्ता विष्णु खत्रीका अनुसार नयाँ पहलले वेल्समा रहेका नेपाली विद्यार्थी, विश्वविद्यालय, विज्ञ तथा नेपाली समुदायबीच समन्वय बढाउँदै विद्यार्थीलाई आवश्यक सहयोग एउटै संयन्त्रमार्फत उपलब्ध गराउने लक्ष्य राखेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५





