बुधबार, २६ अगस्ट, २०२६
12:03 | १६:४८

तिब्बतबाट भोटेकोशीमा आएको बाढीले मच्चायो वितण्डा, ठूलो धनजन क्षतिको अनुमान

नेपाली लिङ्क अगस्ट २६, २०२६

काठमाडौं— रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक ठूलो बाढी आएपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बिहान करिब ९ बजेतिर आएको बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी छ।

टिमुरे बजारमा धेरै घर बगेको र केही संरचना मात्रै बाँकी रहेको स्थानीय प्रहरीको भनाइ छ।

बाढीका कारण ड्युटीमा खटिएका दर्जनौँ सुरक्षाकर्मी तथा कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूबारे हालसम्म थप जानकारी प्राप्त हुन सकेको छैन। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार प्रयास भइरहेको छ।

केही गाउँ नै बाढीले बगाएको बताइए पनि मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अहिलेसम्म सार्वजनिक भएको छैन। स्थानीय तहका प्रतिनिधिहरूले पनि क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको बताएका छन्।

बाढीले रसुवाको भन्सार क्षेत्र, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

स्याफ्रुबेँसीदेखि तलका नदी किनारका संरचनामा समेत क्षति पुगेको बताइएको छ। भन्सार क्षेत्रमा राखिएका ५ सयभन्दा बढी नयाँ गाडीसमेत बाढीले बगाएको जनाइएको छ। यद्यपि, कुल आर्थिक क्षतिको आधिकारिक अनुमान भने अहिलेसम्म सार्वजनिक भएको छैन।

बाढी नुवाकोट हुँदै धादिङतर्फसमेत पुगेको छ। भोटेकोशी–त्रिशूली नदीको बहाव बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

चितवन प्रशासनले समेत त्रिशूली र नारायणी नदी आसपासका बस्तीमा सतर्कता बढाएको छ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत मेडिकल तथा उद्धार टोली प्रभावित क्षेत्रमा पठाइएको छ। केही क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएकाले बाढीबाट भएको वास्तविक क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे पूर्ण विवरण आउन अझै समय लाग्ने देखिएको छ।

हालसम्म मानवीय क्षति अर्थात् मृत्यु भएको यकिन संख्या भने पुष्टि भएको छैन। सम्पर्कविहीन सुरक्षाकर्मी, कर्मचारी तथा अन्य व्यक्तिहरूको खोजी जारी रहेकाले थप विवरण आउन बाँकी छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू