सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको अध्यक्ष चुनिए डा रामजी पौडेल


लन्डन – बेलायतमा बसोबासरत विभिन्न पेशा ब्यबसाय गर्ने नेपाली पेशाकर्मीहरुको छाता संगठन ‘सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) यूके’ को हालै सम्पन्न वार्षिक साधारण सभाले डा. रामजी पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा डा बिदुर घिमिरे, महासचिव पुष्पराज मोक्तान, सचिब डा शिक्षा बराल, कोषाध्यक्ष महेन्द्र ढुंगाना र सदस्यहरुमा शम्भुनाथ अधिकारी, राजु न्यौपाने, सचिन श्रेष्ठ, शक्ति घिमिरे, जगत पौडेल र डा नरबहादुर साउद छन्।
२२ अगस्ट शनिवार लन्डनको वेलिङमा आयोजित एक समारोहमा एसओएनपीका संस्थापक सदस्य तथा निर्वाचन टिमका संयोजक इन्जिनियर श्याम थापाले १० औ कार्यसमिति निर्वाचित भएको घोषणा गर्नुका साथै नवनिर्वाचित टिमका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संस्थापक सदस्य डा चण्डिका भट्टले सपथ ग्रहण गराए ।
सोहि कार्यक्रममा ९औं कार्यसमितिको तर्फबाट निवर्तमान अध्यक्ष गजेन कटुवाल तथा अन्य पदाधिकारीहरुले नवनिर्वाचित कार्यसमितिलाइ संस्थाको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरे ।
निवर्तमान अध्यक्ष कटुवालले सन् २००८ मा स्थापित सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेले बेलायतमा कार्यरत नेपाली विज्ञहरुको सीप र अनुभव नेपालको हितमा उपयोग गर्न प्रयास गर्दै आएको बताए।
नवनिर्वाचित अध्यक्ष डा पौडेलले नयाँ कार्यसमितिले ‘एकपटकको नेपाली सधैको नेपाली’ अभियानसंग अनुसन्धानमा आधारित प्रमाण संकलन गरी हातेमालो गर्ने बताए।
उनले आफ्नो टिमले संगठन विस्तार गर्ने, युवा पुस्तालाई परिचालन गर्ने, मातृभूमिको विकास तथा उन्नतिको लागि ‘थिङ्क ट्यांक’ को रुपमा काम गर्ने र संस्थामा रहेको विभिन्न विज्ञ प्रोफेसनल्सको अनुभव नेपालमा प्रयोग गर्ने अवसरको खोजी गर्ने पनि जनाए।
‘संस्थालाई च्यारिटी संस्थाको रुपमा रुपान्तरण गर्ने प्रक्रिया पनि हामीले अगाडी बढाउने छौं’- उनले भने।
औपचारिक जिम्मेवारी हस्तान्तरण कार्यक्रम पश्चात् संस्थाका आजीवन तथा साधारण सदस्य र अन्य शुभचिन्तकहरुको उत्साहजनक उपस्थितिमा बार्बेक्युका सहित मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो।
नेपालबाट आएकी कलाकार भूमिका शाहको प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


