एनआरएनए आइसीसी अन्तर्गत साहित्य समितिले मनायो भानु जयन्ती


लन्डन । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अन्तर्गत साहित्य समितिले भानु जयन्ती मनाएको छ। आदिकवि भानुभक्त आचार्य र घाँसीको चर्चा तथा सम्मान व्यक्त गर्दै जयन्ती मनाइएको हो।
कार्यक्रमको प्रारम्भमा आख्यान लेखनमा आवश्यक तत्त्वहरूको बारेमा प्रा.डा. कुमार कोइरालाले प्रस्तुति दिएका थिए । लगत्तै एक मिनेट मौनधारणापछि साहित्यकार केदार सुनुवार ‘संकेत’ले भानु र घाँसीका बारेमा प्रस्तुति दिए ।
त्यसपछि सहभागी स्रष्टाहरूले भानु र घाँसीको बारेमा लेखिएका सिर्जनाहरू वाचन गरेका थिए । गोमा राना, डा. लेखनाथ काफ्ले, सीतादेवी प्रधान, सागर श्रेष्ठ, राजेन दुवाढी, शिला घमाल, दिनेश राई ‘मिल्जाई’ लगायतले सिर्जना वाचन गरेका हुन् ।
प्रमुख अतिथिका तर्फबाट प्रा.डा. गोविन्दराज भट्टराईले सार्क मुलुकअन्तर्गत प्रत्येक मुलुकको सबैभन्दा पुरानो संग्रह प्रकाशन गर्ने सार्क कार्यालयको पत्रअनुसार भानुभक्तबारे लेखिएको पुस्तकको पाण्डुलिपी अङ्ग्रेजीमा लेखेर बुझाएपनि हालसम्म प्रकाशन नभएको अवस्था रहेको सुनाएका थिए ।
लगत्तै हङकङ एनआरएनएको तर्फबाट विनय शाहले दुई लाख रुपैयाँ दिने घोषणा गरे भने अमेरिकाको सान फ्रान्सिस्कोमा रहेकी रितादेवी प्रधानले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
नाइजेरियामा रहेका साहित्य समितिका सल्लाहकार हिक्मत थापाले अपुग रकम आफू सहयोग गर्न इच्छुक रहेको आश्वासन दिए । सल्लाहकार गोविन्द गौतमले साहित्य समितिले विश्व सम्मेलन पनि गर्नुपर्ने सुझाव राखेका थिए ।
साहित्य समितिका सदस्य अमित थेवेले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व समितिका संयोजक तथा आइसीसी उपाध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए ।
कार्यक्रममा एनआरएनए केन्द्रका प्रवक्ता सोम सापकोटा, युरोप संयोजक रोबर्ट लिम्बु, विनय शाह, पवनकुमार बुढाथोकी, डेन्जाम साम्पाङ, नरेश काङमाङ, टेकबहादुर थापा लगायतको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


