आइतबार, १२ जुलाइ, २०२६
18:29 | २३:१४

मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’

रासस जुलाइ १२, २०२६

काठमाडौँ । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखाला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताए ।

उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

“रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उनले भने, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।”

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिए ।

“हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ”, उनले भने, “पहिलाको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताए । उनले डेङ्गी हैजा, झाडापखाला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गरे ।

महाशाखाका कीटजन्य शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकाले सचेत रहन आग्रह गरे । उनले मनसुन सुरु हुनासाथ डेङ्गी सङ्क्रमण बढ्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू