बुधबार, २४ जुन, २०२६
03:04 | ०७:४९

रास्वपाको निर्वाचन तालिका तेस्रो पटक संशोधन

रासस जुन २३, २०२६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत मङ्गलबार चितवनमा आयोजित बन्दसत्रको उद्घाटन कार्यक्रममा सहभागी पार्टीका नेताहरू । तस्बिर- प्रदीपराज वन्त/रासस

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार संशोधित तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार महाधिवेशनका प्रतिनिधाहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । आयोग प्रमुख भुवन केसीका अनुसार मंगलबार साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधाहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७ः०० देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ ।

पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । केसीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

उम्मेदवार विरुद्ध दाबी विरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाबी विरोध परेका उम्मेदवारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेदवारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेदवारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने केसीले जानकारी दिए ।

बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ ।

पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू