विदेश पढ्न जान नवीकरण भएका कन्सल्टेन्सीबाट मात्रै सेवा लिन सरकारको आग्रह


काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो ।
स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४ शय ५९ संस्थाहरू समावेश छन् ।
सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ । यही जेठ १ गते काठमाडौँ उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ ।
वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाइ कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृत रूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो ।
मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले भने शुद्धीकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


