‘लालीबजार’ को कमाइ दुई सातामा पाँच करोड २५ लाख


काठमाडौँ, जेठ ८ गते । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा पाँच करोड २५ लाख कमाइ गरेको छ ।
गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्म उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।
कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहेका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरे ।
उनले भने, ‘हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर चलचित्र हेर्न आएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरन्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।’
अभिनेत्री स्वस्तिमा खड्का चलचित्रको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई नेपालभर नै दर्शकले मुक्तकण्ठले तारिफ गरेको बताइन् ।
‘हामीले चलचित्रमार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो चलचित्रमा आवद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका चलचित्र भवन पुगेका थियौँ, सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर चलचित्रलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो’, अभिनेत्री खड्काले भनिन् ।
उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायत कलाकारको अभिनय छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


