बेलायती मन्त्रीले भेटिन् शिक्षामन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शुक्रबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
समानता तथा इण्डो–प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि शुक्रबार बिहान नेपाल आउनुभएको हो ।
भेटका क्रममा शिक्षा क्षेत्रको विकासका लागि सञ्चालन भइरहेका साझेदारी कार्यक्रम तथा आगामी सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो । साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ अवधारणाबारे पनि छलफल भएको बताइएको छ ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गर्नुभयो । उहाँले शिक्षाको पुनःसंरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध र विकास साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले नेपालको उच्च शिक्षामा बेलायतीस्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्तावसमेत राख्नुभएको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


