वर्तमान सरकारप्रति सशङ्कित नहुन उद्योगी–व्यवसायीलाई रवि लामिछानेको आग्रह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उनले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गरेका हुन् ।
सभापति लामिछानेले भने, “निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईँहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईँहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।”
उनले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको स्पष्ट पारे ।
सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि जानकारी दिए । उनले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पारे ।
“तपाईँले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईँहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईँहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ,” उनले भने ।
छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गरे । “हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौँ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो”, उनले भने ।
परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे ।
चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए ।
‘सरकारले नागरिकलाई घरबारविहीन बनाउँदैन’
फरक प्रसङ्गमा सभापति लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । “देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ । हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौँ”, उनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


