बेलायत र खाडीको रोजगारी छाडेर स्वदेशमै बाख्रापालन


मन्थली (रामेछाप), वैशाख २० गते । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन् ।
चार वर्ष बेलायत र ११ वर्ष दुबई कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् ।
“अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भनिन् । बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन् । बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन् ।
विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन् । उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेकी छन् ।
उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन् । उनले भने, “मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान् श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।”
केसीलाई गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव खड्केको छ । तर पनि उनी निरन्तर बाख्रापालनमा खटिएकी छन् । “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरौं कति सफल भइन्छ”, केसीले भनिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


