आइतबार, १६ अगस्ट, २०२६
18:23 | २३:०८

वरिष्ठ साहित्यकार चन्दलाई वसुन्धराश्री पुरस्कार, स्वामी आनन्दलाई मानश्री सम्मान

रासस अप्रिल २०, २०२६

काठमाडौँ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको ‘वसुन्धराश्री पुरस्कार’ वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार, आधुनिक कथा, नाटक र निबन्ध विधामा उत्कृष्ट सिर्जनामार्फत नेपाली साहित्यलाई समृद्ध र गरिमामय बनाएको मूल्यांकन गर्दै चन्दलाई सम्मान गर्ने निर्णय गरिएको हो।

उनले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रतिष्ठानले जनाएको छ।

वि.सं. १९९७ मा बैतडीमा जन्मिएका चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’ जस्ता कृतिहरू प्रकाशित छन्।

यसैगरी, प्रतिष्ठानले यस वर्षको ‘मानश्री पुरस्कार’ आध्यात्मिक गुरु स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ। योग, ध्यान र आध्यात्मिक दर्शनको विकास तथा विश्वव्यापी विस्तारमार्फत नेपाली संस्कृति र वाङ्मयको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिने भएको हो।

वि.सं. २००१ मा जनकपुरमा जन्मिएका आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जो देखेँ मैले’ लगायतका कृतिहरू प्रकाशित छन्।

उनका पुस्तकहरू अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुवाद भइसकेका छन्।

दुवै पुरस्कारमा जनही ७५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू