आइतबार, १७ मे, २०२६
10:37 | १५:२२

एमाले संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित

नेपाली लिङ्क अप्रिल १, २०२६

काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित संसदीय दलको नेता चयन प्रक्रियामा थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलको विधान २०७७ को दफा ६ बमोजिम निर्वाचन कार्यक्रम तय गरिएको थियो । प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाको एकल उम्मेदवारी परेपछि मतदान अधिकृत निरज आचार्यले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन समितिका सदस्यहरू डा. भीष्म अधिकारी र राजेन्द्र श्रेष्ठको रोहबरमा २०८२ चैत १८ गते दिउँसो ४ः१५ बजे सो घोषणा गरिएको पत्रमा उल्लेख छ । एमालेको पछिल्लो आन्तरिक शक्ति सन्तुलन र संसदीय भूमिकाका दृष्टिले थापाको यो चयनलाई निकै महत्त्वका साथ हेरिएको छ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष थापालाई

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।

राससका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए ।

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बैठकमा जानकारी गराइएको थियो ।

अध्यक्ष ओलीलाई प्रहरीले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू