आइतबार, २२ मार्च, २०२६
13:52 | १९:३७

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक

नेपाली लिङ्क मार्च २२, २०२६


काठमाडौं, चैत्र ८, २०८२–लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो ।

लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया । मेरा लेखनका स्रोत अपठित कर्नालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन् । म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु ।’

साथै उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए । कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको पनि बताए । तर, अहिले पनि कर्णालीको विषयमा लेखिएका सामग्रीमा पर्याप्त अनुसन्धान र मर्म नबुझी लेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कति लेखकले त कर्नालीकन बिकाउ माल सम्झिया र कर्नालीका आँसु मात्तै लेख्या । कतिले कर्नाली नबुजीकनै लेख्या, कर्नाली नटेकीकनै लेख्या र तथ्य बङ्ग्याइकन पण्डित्याइँ छाँट्या । आज पन कर्नाली लेखिनै छ । तर पन कर्नाली केई लेखियाकै नाइँ । कर्नालीको भाषा, सभ्यता र संस्कृतिको हुनुपन्र्या जति खोज भयाको नाइँ ।’

दैलेखमा रेडियोमा काम गर्दा आफूले सयभन्दा बढी पाका अग्रजसित कुराकानी गरेको र त्यसैले आफूलाई संस्कृतितर्फ आकर्षित गरेको उनले बताए । उनले अगाडि भने, ‘कर्नालीको इतिहास बोल्न्या ताम्रपत्रहरू पानी खान्या गाग्री भइसक्याका छन् । वीरखम्बहरू नासिनाइ छन्, मासिनाइ छन् । देवलहरू ढल्लाइछन् । लोकगाथाहरू लोप हुनाइछन् । यी सबैको खोजी अरिकन नेपालीजातिको भाषिक, सामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ ।’

त्यस्तै दलित समुदायले कर्नालीको लोकसाहित्य र सांस्कृतिक परम्पराको संरक्षणमा पुर्याएको योगदान पनि प्रस्ट पारे । उनले भने, ‘कर्नालीको लोकसाहित्य र संस्कृति कसैले बँचायाको छ भन्या अछुत भनीकन हेला अर्याका दलित जातिले बँचायाका छन् । कलाका ती उँचा धरोहरकन नमन अर्छु जो नभयाको भया न म लोकप्रिय वीरगाथा बालाराजा काशीरामको भारत सुन्न्या थियाँ न लेख्न्या थियाँ पैकेलो । कर्नालीका लोकगाथा, वीरगाथा, वीरखम्ब, कीर्तिखम्ब, पडेली, हुड्केली र न्याउल्या लोप भयाका दिन मेरो कलम रोकिन्या छ।’

लेखक रिजालले आफ्नो २५ मिनेट लामो मन्तव्य पूरै खस भाषामा दिएका थिए ।

नेपालयका सम्पादक विमल आचार्यले भने, ‘पैकेलो साहित्यिक हिसाबले जति पठनीय छ, संस्कृति, समाज, भाषा, इतिहास अध्ययनको दृष्टिले उत्तिकै संग्रहणीय ।’

विज्ञान र जनप्रशासनमा स्नातकोत्तर रिजालको यसअघि ‘हटारु’ उपन्यास छापिएको थियो । उनका ‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा पनि प्रकाशित छन् । रिजालका संस्कृतिकेन्द्री आख्यानसँगै अनुसन्धानमूलक लेख पनि प्रकाशित छन् ।

दुई सय ५० पृष्ठको ‘पैकेलो’को मूल्य पाँच सय ७५ रुपैयाँ छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रै डटकम (www.thuprai.com) र अमेजनबाट विश्वभरका पाठकले किन्न सक्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू