गैरआवासीय नेपालीलाई नेपालको समृद्धिमा योगदान गर्न परराष्ट्रमन्त्रीको आह्वान



काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गरेका छन् ।
गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माण अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।
मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै भने, “अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ।”
उनले लगानीसँगै ज्ञान, सीप र प्रविधि आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पु¥याउन तथा नेपाली भाषा, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गरे ।
पश्चिम एसियामा देखिएको पछिल्लो परिस्थितिमा राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउन गैरआवासीय नेपाली समुदायले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गरे ।
साथै उनले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गैरआवासीय नेपालीहरूले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै आएकामा उनले प्रशंसा व्यक्त गरे । साथै नयाँ सरकारले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर योगदान दिन सक्ने अनुकूल वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरे ।
मन्त्री शर्माले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


