बुधबार, ११ मार्च, २०२६
03:52 | ०९:३७

समानुपातिक मतगणना अपडेट: ५१ लाखभन्दा बढी मतका साथ रास्वपा पहिलो स्थानमा

नेपाली लिङ्क मार्च ११, २०२६

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता कायम गरेको छ। निर्वाचन आयोगले बुधबार बिहान २ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, रास्वपाले ५१ लाखभन्दा बढी मत प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना सम्पन्न भइसकेको छ। जसमध्ये रास्वपा एक्लैले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।

समानुपातिकतर्फको प्रतिस्पर्धामा परम्परागत ठूला दलहरू यस पटक रास्वपाभन्दा निकै पछाडि देखिएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९७४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १४ लाख ४७ हजार ६६४ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतसहित चौथो स्थानमा छ।

संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार १९७ मत पाएको छ।

निर्वाचन आयोगका अनुसार अब गणना गर्न बाँकी मतको सङ्ख्या निकै कम रहेकाले आज (बुधबार) साँझसम्ममा समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक हुने सम्भावना छ।

समानुपातिक निर्वाचन प्रणालीबाट कूल ११० जना सांसदहरू निर्वाचित हुनेछन्। राजनीतिक दलहरूले प्राप्त गरेको कुल सदर मतको अनुपातमा ‘सेन्ट लग’ विधिअनुसार सिट बाँडफाँट गरिने संवैधानिक व्यवस्था रहेको छ। रास्वपाको यो भारी मत परिणामले संसदमा उसको सिट सङ्ख्या निकै बलियो हुने देखिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू