चितवनबाट रवि विजयी, झापामा ओलीलाई भारी मतान्तरले पछि पार्दै बालेनको अग्रता



चितवन– चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
उनले ५४ हजार ४०२ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् ।
यस्तै नेकपा (एमाले) का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।
लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए ।
यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।
यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी थिए ।
ओली ३१ हजार मतले पछाडि
उता, झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ३१ हजार मतले पछि परेका छन् ।
पछिल्लो परिणामअनुसार बालेनको मत ४२ हजार ५४३ पुगेको छ । ओलीले ११ हजार ४२७ मतसहित बालेनलाई पछ्याइरहेका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार सात हजार १०७ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले एक हजार २०२ मत ल्याएकी छन् ।
झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


