आइतबार, १ मार्च, २०२६
16:16 | २२:०१

तमुधिं यूके उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँमा सम्मान

नेपाली लिङ्क मार्च १, २०२६

कास्की–तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ नेपाल भ्रमणका क्रममा कास्कीको रमणीय पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले स्वागत सम्मान गरेका छन्।

उनले गत वर्ष ल्वाङस्थित श्री बाराही बेसिक स्कुललाई आफ्ना स्वर्गीय बुवा–आमाको स्मृतिमा रु ७७,७७७ (सतहत्तर हजार सात सय सतहत्तर) रकम “बाराही अक्षय कोष” स्थापना तथा सुदृढीकरणका लागि सहयोग गरेका थिए ।

उक्त सहयोगले विद्यालयको दीर्घकालीन शैक्षिक गतिविधि, छात्रवृत्ति वितरण तथा शैक्षिक सामग्री व्यवस्थापनमा महत्वपूर्ण टेवा पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।

उनी यसपटक क्वोने, घोताने-घोण्डे गुरुङ (तमु) समाज यूके परिवारका सदस्यहरूसँगै ल्वाङ आइपुगेका हुन् । ल्वाङ गाउँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कमल गुरुङले आफू जन्मेको र हुर्केको समाजप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको बताए । उनले आगामी दिनहरूमा पनि विद्यालय र गाउँको समग्र विकासका लागि सक्दो साथ र सहकार्य जारी रहने प्रतिवद्धता जनाए ।

प्रवासमा रहेर पनि गाउँ, विद्यालय र समुदायसँग भावनात्मक तथा व्यावहारिक सम्बन्ध कायम राख्ने कमल गुरुङजस्ता व्यक्तित्वहरू समाजका लागि उदाहरणीय भएको स्थानीयले बताएका छन् ।

भ्रमणका क्रममा स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया भएको थियो । कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा र सामाजिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएकोमा कमल गुरुङप्रति कृतज्ञता व्यक्त गरेका थिए।

गुरुङ धम्पुस–झग्रेका निवासी स्व. उदय बहादुर गुरुङ र स्व. कुन्ती देवी गुरुङका कान्छा सुपुत्र हुन्। उनका पिताले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने दीर्घदृष्टिका साथ धम्पुस–झग्रेमा उदय मा. वि. स्थापना गरेका थिए । सोही शैक्षिक अभियानको निरन्तरताका रूपमा कमल गुरुङ हाल उक्त विद्यालयका संरक्षकको भूमिकामा सक्रिय छन्। पारिवारिक रूपमा शिक्षाप्रति गहिरो प्रतिवद्धता र सामाजिक उत्तरदायित्व वहन गर्ने परम्परालाई उनले विदेशमा रहेर पनि निरन्तरता दिएको देखिन्छ।

बेलायतमा सफल व्यवसायीको रूपमा स्थापित गुरुङले आर्थिक समृद्धिलाई केवल व्यक्तिगत उपलब्धि नठानी सामाजिक पूँजीका रूपमा प्रयोग गर्दै आएका छन् । ‘शिक्षा उज्यालो घाम हो, यसबाट कुनै पनि बालबालिका वञ्चित हुनु हुँदैन’ भन्ने मान्यतालाई आत्मसात् गर्दै उनी र उनको परिवारले विभिन्न शैक्षिक, सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा सहयोग पुर्‍याउँदै आएका छन्। विशेषगरी ग्रामीण भेगका विद्यालयहरूमा अक्षय कोष स्थापना, छात्रवृत्ति वितरण, पूर्वाधार सुधार तथा शैक्षिक सामग्री उपलब्ध गराउने कार्यमा उनको सक्रियता उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन्।

तमु समुदायको सांस्कृतिक पहिचान संरक्षण, सामाजिक एकता सुदृढीकरण तथा मातृभूमिसँगको सम्बन्ध प्रगाढ बनाइराख्न तमुधिं यूकेले निर्वाह गर्दै आएको भूमिकामा कमल गुरुङको नेतृत्व र सहभागिता महत्वपूर्ण मानिन्छ।

उनी प्रवासमा बसोबास गर्ने तमु-गुरुङ समुदायलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वमुखी कार्यक्रम सञ्चालन गर्नुका साथै नेपालस्थित विभिन्न क्षेत्रमा सहयोग समन्वय गर्ने कार्यमा अग्रसर छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू