शुक्रबार, २७ फ्रेब्रवरी, २०२६
15:58 | २१:४३

जटिल रोगबाट पीडित ढुंगानालाई मर्दीखोला समाज युकेद्वारा एक लाख ९२ हजार सहयोग

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२६

कास्की-मर्दीखोला समाज युकेले कास्की जिल्लाका असिम ढुंगानाको उपचारार्थ रु १,९२,५१९ (एक लाख ९२ हजार पाँच सय उन्नाइस) आर्थिक सहयोग प्रदान गरेको छ।

विदेशमा बसोबास गर्दै आए पनि मातृभूमिप्रति निरन्तर सहयोग गर्दै आएको समाजले गम्भीर रोगबाट पीडित ढुंगानाको उपचारमा सहकार्य गरेको जनाएको छ।

कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–६ निवासी असिम विगत पाँच वर्षदेखि X-linked agammaglobulinemia नामक जटिल तथा दुर्लभ रोगबाट पीडित छन्। उनी हाल मणिपाल शिक्षण अस्पताल मा नियमित उपचाररत छन्।

उक्त रोगको उपचार अत्यन्त खर्चिलो हुने तथा परिवारको आर्थिक अवस्था कमजोर रहेकाले थप उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा समाजले सहयोग उपलब्ध गराएको हो।

ल्वाङ गाउँ भ्रमणका क्रममा आयोजित कार्यक्रममा उक्त सहयोग रकम असिम ढुंगाना र उनका परिवारलाई हस्तान्तरण गरिएको थियो।

साँझ ल्वाङ गाउँस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा मर्दीखोला समाज युकेका उपाध्यक्ष एस.के. गुरुङ, तारा गुरुङ, आमा समूह अध्यक्ष ध्रुब गुरुङ, बिनोद गुरुङ, आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङ, क्वोने परिवारकी चेलीबेटी प्रमुख लिना गुरुङ लगायतको उपस्थिति थियो।

कार्यक्रममा क्वोने तथा घोताने/घोण्डे गुरुङ (तमु) समाज युके, हङकङ र नेपालका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

समाजका पदाधिकारीहरूले विदेशमा रहे पनि आफ्नो जन्मभूमि र समुदायप्रति दायित्वबोध गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

साथै, ढुंगानाको स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगका लागि पहल गरिने जनाइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू