रवि लामिछानेको खुट्टामा संक्रमण, उपचारका लागि अस्पताल भर्ना


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई देब्रे खुट्टामा संक्रमण (सेलुलाइटिस) देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा लागेको सामान्य चोट समयसँगै बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) भएको बताएका छन्।
संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चिकित्सकको सल्लाहअनुसार उनलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गर्नुपर्ने भएकाले लामिछाने हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
आचार्यका अनुसार, चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्यमा सुधार भएपछि मात्र सभापति लामिछाने नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किनेछन्।
सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिएको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। साथै, अस्पतालमा भेटघाटका लागि नआइदिन पनि अनुरोध गरेका छन्।
अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहज नहोस् भन्ने उद्देश्यले यस्तो अनुरोध गरिएको आचार्यले बताएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


