प्रतिनिधिसभा सदस्य निर्वाचन: दुई हजार ९२५ जनाले दर्ता गराए उम्मेदवारी



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराए । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उनले बताए ।
कम दर्ता भएको मुस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिए । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५-३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नं क्षेत्रको बाँकी छ ।
सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताए ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘मनोनयनपत्र दर्ता शान्तिपूर्ण’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताएका छन् । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उनको भनाइ छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब निर्वाचित हुने जनप्रतिनिधिले देशमा सुशासनका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
अब मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको दाबी विरोध, छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर माघ ९ गते निर्वाचन चिह्न प्रदान गरिने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसपछि घरदैलो कार्यक्रम गर्न सक्ने जानकारी गराए । निर्वाचन प्रचारप्रसारका ठूला कार्यक्रम भने फागुन ४ गतेपछि मात्र गर्न पाउने उनले बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समन्वयात्मक रूपमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचन कार्यक्रम सम्पन्न गरिने बताए । यसैगरी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले राजीनामा दिएकाले छ महिनाभित्र सरकारसँग सल्लाह गरेर खाली भएका क्षेत्रमा निर्वाचन गराउने उनको प्रतिबद्धता थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस वर्ष आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले यसलाई पालना गर्न आह्वान गरे । उनले निर्वाचन आचारसंहिता पालना नगरेको भनेर उजुरी परेमा आयोगले कानुनबमोजिम कारबाही गर्ने पनि प्रष्ट पारे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



