आइतबार, १८ जनवरी, २०२६
02:23 | ०८:०८

३९ अर्ब २३ करोड बढीको वैदेशिक लगानी प्रतिबद्धता

रासस जनवरी १७, २०२६

काठमाडौं । मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

चालु आवमा सातवटा ठूला, आठवटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । गत पुसमा ३६ वटा साना उद्योगमा पाँच अर्ब ९९ करोड ५० लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँबराबर रहेको छ । बितेका ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि एक अर्ब सात करोड ८४ लाख ८६ हजार रुपैयाँ छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा दुई अर्ब तीन करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा चार करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ उद्योगमा तीन अर्ब ४६ करोड ६० लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू