विश्व शान्तिका लागि १९ भिक्षुका साथ ३,७०० किमी पदयात्रामा हिंडिरहेको छ एक कुकुर


लन्डन–विश्वभर हिंसा, हत्या र युद्धका घट्ना बढिरहेका बेला अमेरिकाका सडकमा देखिएको एउटा दृश्यले धेरैको ध्यान तानेको छ । १९ जना बौद्ध भिक्षु र उनीहरूको साथमा अघि अघि हिँडिरहेको एउटा कुकुर ‘अलोका’ हेर्न मानिसहरु झुम्मिइरहेका छन् ।
यो सामान्य पैदल यात्रा नभएर अशान्त विश्वलाई शान्तिको सन्देश दिन निस्किएको ३ हजार ७ सय किलोमिटर लामो ‘वाक फर पीस’ (शान्ति पदयात्रा) हो ।
गत अक्टोबर २६ मा टेक्सासको फोर्ट वर्थबाट सुरु भएको यो यात्रा सन् २०२६ फेब्रुअरी १३ मा वासिङ्टन डिसीस्थित अमेरिकी संसद् भवन (यूएस क्यापिटल) पुगेर टुङ्गिनेछ। १ सय २० दिनको यो यात्रा जति शान्त र सरल देखिन्छ, यसभित्रका भोगाइ र चुनौतीहरू त्यति नै कठोर छन्।
यस पदयात्राको मुख्य आकर्षण हो ‘अलोका’ नामक कुकुर। संस्कृतमा ’प्रकाश’ अर्थ लाग्ने अलोकाको कथा कुनै चलचित्रभन्दा कम छैन् । सन् २०२२ मा भारतमा पदयात्रा गरिरहेका भिक्षुहरूलाई एउटा बेवारिसे कुकुरले पछ्याउन थाल्यो । सय दिनभन्दा बढी समयसम्म पनि त्यो कुकुरले साथ नछोडेपछि भिक्षुहरूले उसलाई संरक्षण दिए र उसको नाम राखे, अलोका ।
अलोकाको निधारमा प्राकृतिक रूपमै ’मुटु’ आकारको चिन्ह छ। अहिले ऊ ‘पिस डग’ का रूपमा विश्वभर चर्चित छ। सामाजिक सञ्जालमा लाखौँ प्रशंसक कमाएको अलोका भिक्षुहरूसँगै ध्यान बस्छ र घन्टौँसम्म मौन पदयात्रा गर्छ। उसको अनुशासन र प्रेमले मानिसहरूलाई अहिंसाको मार्गमा लाग्न प्रेरित गरिरहेको छ।
यात्रामा उकाली ओराली अनि दुःख कष्ट सामान्य हुन्छन्। यो यात्रा पनि सधैँ फूलै फूलको ओछ्यान जस्तो रहेन। सन् २०२५ नोभेम्बर १९ मा टेक्सासको ह्युस्टन नजिकै एउटा दर्दनाक घटना घट्यो। तीव्र गतिमा आएको एउटा पिकअप ट्रकले पदयात्री भिक्षुहरूलाई ठक्कर दियो।
दुर्घटनामा परी भिक्षु ’भान्ते दम फोम्मासान’ ले आफ्नो एउटा खुट्टा गुमाए । अलोकाको पनि शल्यक्रिया नै गर्नुपरयो जसले गर्दा ऊ केही दिन निरन्तर पैदल यात्रामा समावेश हुन सकेन। तर, शारिरीक चोटले उनीहरूको मानसिक शान्ति र अठोटलाई हल्लाउन सकेन। बरु ‘घृणालाई मायाले जित्नुपर्छ’ भन्ने बुद्ध दर्शनलाई व्यवहारमा उतार्दै घाइते भिक्षुहरू र बाँकी टोलीले आफ्नो यात्रालाई निरन्तरता दिए। आज यो टोली दक्षिण क्यारोलिना र जर्जियाका सडकहरू नाप्दै अघि बढिरहेको छ।
नर्थ क्यारोलिनामा पुगेपछि केही दिनअघि खुट्टाको शल्यक्रिया गराएको चर्चित कुकुर ‘अलोका’ अन्ततः आफ्ना प्रिय भिक्षुहरूसँग पुनर्मिलन भएको छ। भिक्षुहरूलाई देख्नेबित्तिकै अलोकाले पुच्छर हल्लाउँदै आफ्नो खुसी व्यक्त गरेको दृश्यले त्यहाँ उपस्थित सबैको आँखा रसायो । शल्यक्रियापछिको आराम र ‘रिह्याब’ मा रहेको भएपनि भिक्षुहरूसँग अलोकाको गहिरो आत्मिक सम्बन्ध अझै बलियो देखिएको छ । यसपछि अलोकालाई थप उपचारका लागि ’रिह्याब’ मा नै लगिएको छ।
भिक्षु पन्नाकारको नेतृत्वमा भइरहेको यो यात्राको उद्देश्य राजनीतिक नभई आध्यात्मिक हो । १० वटा अमेरिकी राज्यहरू पार गर्दै गर्दा उनीहरूले दैनिक ध्यान र मौनताको अभ्यास गर्छन्। भिक्षु पन्नाकार भन्छन्, ‘यो पदयात्रा केवल एक ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन, बरु मानिसको मनभित्र शान्तिको बीउ रोप्नु हो ।’
पदयात्राको ८३औं दिनमा अहिले उनीहरु नोर्थ क्यारोलिना पुगेका छन्।

अमेरिकाका स्थानीय बासिन्दा, सरकार र सुरक्षाकर्मीले यस अभियानलाई निकै महत्वकासाथ् सहयोग गरिरहेका छन्। ठाउँ–ठाउँमा समुदायले नै भिक्षुहरूका लागि खाना र बस्ने व्यवस्था मिलाएका छन्। धेरै अमेरिकीले भिक्षुहरूसँग केही माइलसम्म सँगै हिँडेर ऐक्यबद्धता जनाइरहेका छन्। उनीहरुले आफ्नो पदयात्राको हरेक गतिविधिलाई आफ्नै फेसबुक पेज मार्फत जानकारी गराउंदै आएका छन् । छोटो समयमा उक्त पेजमा १६ लाख भन्दा बढी व्यक्ति जोडिएका छन् ।
स-साना बच्चादेखि वृद्धवृद्धा र अपाङ्गता भएकाहरूसमेत उनीहरूको स्वागतका लागि सडक किनारमा लामबद्ध भएर स्वागत गर्दै डोरो अर्थात ‘ब्लेसिङ स्ट्रिङ’ बाँधेर आशिर्वाद लिइरहेका छन्। यद्धपि कतिपयले उनीहरुको शान्ति पदयात्रालाई गलत बाटो रोजेको संज्ञा दिएपनि भिक्षुहरुले उनीहरुलाई भावनात्मक प्रतिक्रिया दिने गरेका छन् ।
३,७०० किलोमिटरको यो कठिन यात्राले एउटा शक्तिशाली सन्देश दिएको छ- शान्ति ठूला भाषणहरूले होइन, करुणा, सहनशीलता र निरन्तर प्रयासले मात्र सम्भव छ। एउटा खुट्टा गुमाएका भिक्षु र एउटा बेवारिसे कुकुरको यो सहयात्राले आजको हिंसाग्रस्त विश्वलाई ‘अहिंसा परमो धर्म’ को सान्दर्भिकता स्मरण गराएको छ। अहिलेको विश्वमा खाँचो छ त केवल शान्तिको !


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




