मंगलबार, १३ जनवरी, २०२६
18:54 | ००:३९

बेलायत पठाइदिने भन्दै १२ लाख ठगी गर्ने निलिमा श्रेष्ठ पक्राउ

नेपाली लिङ्क जनवरी १३, २०२६

काठमाडौँ । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, बेलायत पठाइदिने भन्दै लामो समयदेखि झुक्यानमा राखी १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेकी छन्।

त्यसैगरी, अमेरिका पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–७ की ४९ वर्षीया रेशम लाल लामा तामाङलाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, यूएई पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, माल्दिभ्स पठाइदिने भन्दै ३ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा ३० वर्षीय अभिशेष कराला, तथा बेलायत पठाइदिने भन्दै १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४६ वर्षीय चेतनारायण आचार्य पक्राउ परेका छन्।

लिम्बुको स्थायी घर ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ भए पनि हाल उनी काठमाडौँमा बस्दै आएको, करालाको स्थायी घर रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० भए पनि हाल काठमाडौँमा बस्दै आएको तथा आचार्यको स्थायी घर अर्घाखाँची मालारानी गाउँपालिका–१ भए पनि हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू