प्रधानमन्त्री कार्की र एमाले नेताहरुबीच भेट



काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। बिहीबार प्रधानमन्त्री कार्कीले एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित संसदीय दलका मुख्य नेता महेश बर्तौलासहितका नेताहरूसँग छलफल गरेकी थिइन्।
उनले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावमा सघाउन एमाले नेताहरूसँग आग्रह गरिन्। बालुवाटारमा भएको सो छलफलमा चुनावमा जान आफूहरूलाई कुनै समस्या नरहे पनि अझै आफ्ना अध्यक्षमाथि स्थानहद गरिएको र सरकारी क्रियाकलापले चुनावी वातावरण नबनेकोले यसको व्यवस्थापन गर्नुपर्ने एमालेको भनाई थियो।
नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच पहिलो पटक संवाद भएको हो। वार्तामा सहभागी विघटित प्रतिनिधि सभा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुलाई सकारात्मक रुपमा ग्रहण गरेको बताउँदै बर्तौलाले आफूहरुले प्रधानमन्त्रीलाई एमाले जनतामा गएर परीक्षण हुन अस्वीकार नगर्ने तर सरकारले पहिला चुनावको वातावरण बनाउनु पर्नेमा जोड दिएको बताए।
उनले निर्वाचनका लागि सहज परिस्थिति नदेखेको भन्दै कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता लिन आग्रह गरेको जनाए। उनले भने, ‘आईजीपीको अवकाश हुनेबित्तिकै स्थानहदले प्रहरीको मनोबल घटाएको छ। भागेका कैदी, लुटिएको हतियार फिर्ताको अवस्था के छ भनेर हामीले जिज्ञासा राख्यौं, प्रधानमन्त्रीज्यूले आफूले प्रयास गरिरहेको बताउनु भयो।’
एमाले नेताहरुले आफूहरुले निर्वाचनको विरोध गरेको नभई सहज वातावरण चाहेको बताएका थिए। ‘एमाले जनतामा जान रुचाउने पार्टी हो। हामीले चुनावी वातावरण खोजेको हो,’ बर्तौलाले भने, ‘हामीले कानुनी परीक्षणबारे पनि ध्यानाकर्षण गरायौं।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



