शनिबार, २२ नोभेम्बर, २०२५
14:50 | २०:३५

१० लाख बढी थपिए नयाँ मतदाता

नेपाली लिङ्क नोभेम्बर २२, २०२५

काठमाडौं । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा १० लाख बढी मतदाताले पहिलो पटक मतदान गर्ने भएका छन्।

यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए।

निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० जना रहेको थियो।

तर, त्यसमा धेरै जेनजी मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो। अध्यादेशअनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो। अध्यादेश आएपछि मात्रै झण्डै साढे ८ लाख मतदाता थपिए। जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ छन्। अन्य ६१ रहेका छन्।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ। यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार जेनजी आन्दोलनपछि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरू बढेका छन्।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरबाट संकलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ।

नामावलीमा कुनै त्रुटि भए सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ।

निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिन्छ। प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन हुनेछ र पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

अन्तिम नामावली प्रकाशन हुँदा संख्यामा सामान्य हेरफेर मात्रै हुन सक्ने आयोगले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू