विदेशबाट कसरी हुन सक्छ मतदान? सरकार र विज्ञहरुबीच छलफल



काठमाडौँ । विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुरक्षित गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
आइतबार गृह मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा नयाँ प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सजगता, कानुनी चुनौती र गर्नुपर्ने कानुनी प्रावधानको उपायबारे ‘नेपाल पोलिसी इन्स्टिच्युट’का विषयविज्ञबीच छलफल भएको हो।
गृहमन्त्री ओम प्रकाश अर्यालले नयाँ प्रविधिमार्फत् नेपालमै बसोबास गर्ने र विदेशमा समेत रहेका सम्पूर्ण नेपाली नागरिकलाई मतदान गर्ने सुनिश्चितता गर्न सरकार दत्तचित्त भएर लागिपरेको बताएका थिए।
मन्त्री अर्यालले अझै विषय विज्ञहरूसँग विभिन्न प्रविधिअन्तर्गत पनि कुन प्रविधि बढी भरपर्दो, सुरक्षित र विश्वसनीय हुने भन्नेबारे छलफल हुने बताए। यो नै प्रविधि लागू गर्ने भन्नेबारे अझै छलफल बाँकी रहेको उनको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले देशका आएको परिवर्तन र जेनजीको जनभावना अनुसार सरकार, निर्वाचन आयोग र कानुन मन्त्रालयले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिक र युवालाई मतदानमा सहभागी गराउन नयाँ प्रविधिमार्फत् चुनावको वातावरण बनाउनु पर्ने बताए।
सोही कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले यो सरकारको गठन र आदेश देशमा आमूल परिवर्तनको आभास सबै नागरिक समक्ष पुग्नु पर्ने कुरा बताउँदै मन्त्रालयले प्रविधिको प्रयोगलाई नागरिक मैत्री बनाउँदै निर्वाचनसँग प्रविधिलाई जोडी नागरिकमा यसको सही र सुरक्षित प्रयोगबारे जनचेतना जगाउनुका साथै सरोकारवालासँग छलफल गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा पोलिसी इन्स्टिच्युटका तर्फबाट खगेन्द्र ढकालले कुन-कुन प्रविधिमार्फत् कसरी विदेशमा समेत रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिन सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए ।



