प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी घोषणा, माधव नेपाल बने सह-संयोजक



काठमाडौँ । १० वटा विभिन्न पार्टी तथा समूहहरुको एकता गरेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन्। यसअघि प्रचण्ड माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष थिए।
बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलहरूबीच एकता भएको हो।
पार्टी एकता घोषणा कार्यक्रममा नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा आफूहरुको एकता ऐतिहासिक भएको बताए।
कम्युनिष्ट शक्तिहरुको एकता अभियान शुरु गरिएकै चर्चा गर्दै संयोजक प्रचण्डले भने, ‘आजको दिनमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ। कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन छैन। यो एकता अभूतपूर्व, ऐतिहासिक र असाधारण छ। ऐतिहासिक दिनमा रुपमा अंकित भएको छ।’
जेनजी आन्दोलनले देशमा विशेष परिस्थिति खडा गरेको भन्दै प्रचण्डले देशमा वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताए।
नेपालको इतिहासमा अहिलेको जस्तो ठूलो राष्ट्रिय संकट कहिल्यै पैदा नभएको चर्चा गर्दै उनले संकटबाट देश जोगाउने जिम्मा दलहरुकै भएको बताए। ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन्। अब कम्युनिस्ट एक भएर नयाँ राष्ट्रिय अभियान चलाएर वैदेशिक चलखेल रोक्नु पर्ने छ। त्यसको सुरुवात यहाँबाट गरिएको छ।’
यसैबीच नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकतासम्बन्धी ९ प्रस्ताव तथा २३ बुँदे प्रतिबद्धता पारित गरेको छ।
त्यस्तै एकता राष्ट्रिय सम्मेलनले पार्टी घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



