आइतबार, १९ अक्टोबर, २०२५
11:57 | १६:४२

तिहार मनाउन ६ लाखले उपत्यका छाड्ने अनुमान

रासस अक्टोबर १९, २०२५

फाइल तस्बिर- रासस

काठमाडौँ, कात्तिक २ गते । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । “यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु परयो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन”, उनले भने ।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए । “दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो । शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन”, उनले भने, “कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू