मंगलबार, १४ अक्टोबर, २०२५
16:24 | २१:०९

कांग्रेस सभापति देउवाले भने- चुनावका लागि भयरहित वातावरण बनेको छैन

सार्वजनिक भएकै दिन पार्टीको कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

नेपाली लिङ्क अक्टोबर १४, २०२५

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि भयरहित वातावरण नबनेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन गराउन शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।

जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवाले आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न माग गरेका छन्।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’

खड्कालाई कार्यवाहक सभापतिको जिम्मा

यसैबीच सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। बैठकलाई सम्बोधन गर्ने क्रममा देउवाले खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

देउवाले सम्बोधन गरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू