यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी माचादोलाई



काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचादोले पाएकी छिन्।
भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकार प्रवर्धनमा अविराम काम गरेको भन्दै मारिया कोरिना माचादोलाई नोबेल शान्ति पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ। माचादोले निष्पट्ट अँध्यारोमा पनि लोकतन्त्रको ज्योति जोगाउने काम गरेको समितिले उल्लेख गरेको छ।
यस वर्ष पुरस्कारका लागि कुल ३३८ नाम दर्ता भएका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्थाहरू रहेका छन्।
सन् १९६७ मा भेनेजुएलामा जन्मिएकी माचादोले इन्जिनियरिङ र वित्तसम्बन्धी अध्ययन गरेकी छिन्। माचादो राजनीतिमा आउनुअघि बालबालिकाको क्षेत्रमा काम गर्थिन्। पछि उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनको प्रवर्धनका लागि सुमाते नामक संस्थाको स्थापनामा गरिन्।
उनी सन् २०१० को संसदीय निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्। सन् २०१२ मा राष्ट्रपति पदको चुनावमा उनी उम्मेदवारका रूपमा मैदानमा देखिएकी थिइन्। सन् २०१२ मा स्थापना गरिएको भेन्ते नामक मध्यम-दक्षिणपन्थी दल स्थापना गरेर राष्ट्रिय संयोजक भइन्।
सन् २०१७ मा उनले सोय भेनेजुएला गठबन्धन स्थापना गर्न भूमिका निर्वाह गरेकी थिइन्। यो गठबन्धनकै कारण भेनेजुएलाको विभाजित राजनीतिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएको थियो।
सन् २०२३ मा उनले २०२४ को राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी थिइन्। तर, उनलाई उम्मेदवारी दिनबाट वञ्चित गरिएपछि विपक्षी दलका उम्मेदवार एडमुन्डो गोन्जोलेस युरुटियालाई समर्थन गरेकी थिइन्।
बीबीसीले सन् २०१८ मा उनलाई विश्वका सबैभन्दा प्रभावशाली र प्रेरणादायी १०० नेताहरूको सूचीमा समावेश गरेको थियो। भेनेजुएलाको परम्परागत पुरुष प्रधान राजनीतिक मैदानमा माचादो उदाउँदै गरेकी नेतृकी रुपमा परिचित छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



