युक्रेनको रक्षा खर्च जिडिपीको झण्डै ४४ प्रतिशत


किएभ । रुससँग युद्ध जारी रहेका बेला युक्रेनले सन् २०२७ मा रक्षा तथा सुरक्षाका लागि कीर्तिमानी चार दशमलव नौ ट्रिलियन हरिभनिया (करिब १०९ अर्ब अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको सरकारी दस्ताबेजले देखाएको छ ।
यो रकम युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४४ प्रतिशत हो । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयताकै यो सबैभन्दा ठूलो रक्षा खर्च हुनेछ ।
युक्रेनी सरकारले युद्धका कारण अर्थतन्त्रमा परेको असर र वित्तीय अभावबीच आगामी वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कलगायतका अन्तर्राष्ट्रिय निकायबाट थप ५३ अर्ब डलर विदेशी सहायता जुटाउने प्रयास गर्ने जनाएको छ ।
युक्रेनका अर्थमन्त्री सर्गी मार्चेन्कोले मङ्गलबार जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण जारी रहेका कारण सुरक्षा तथा रक्षासम्बन्धी आवश्यकता सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
‘युक्रेनले आक्रमणकारीको प्रभावकारी रूपमा सामना गर्न सकोस् भन्ने सुनिश्चित गर्न राज्यका सबै सम्भावित आन्तरिक स्रोत परिचालन गरिँदै छन्’, उनले भने ।
सरकारी योजनाअनुसार रक्षा तथा सुरक्षाका लागि छुट्याइएको रकममध्ये करिब एक तिहाइ सैनिकको तलबमा खर्च हुनेछ भने बाँकी मुख्यतः हतियार तथा सैन्य उपकरण खरिदमा प्रयोग गरिनेछ ।
तुलनात्मक रूपमा रुसले सन् २०२७ मा रक्षा क्षेत्रमा करिब १३ दशमलव छ ट्रिलियन रुबल (करिब १६१ अर्ब डलर) खर्च गर्ने योजना बनाएको छ । यो उसको कुल बजेटको करिब ३० प्रतिशत हो ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशी लगानी आकर्षित गर्न संसद्ले अप्रिय र अलोकप्रिय उपाय पारित गर्नुपर्ने बताएका छन् । त्यस्ता उपायमा विदेशी पार्सलमा कर लगाउने विषय पनि समावेश छ ।
‘अहिलेको अवस्थामा यी उपायबिना हाम्रो रक्षासम्बन्धी पूर्णआवश्यकता र युक्रेनको प्रतिरोध क्षमता सुनिश्चित गर्न असम्भव छ’, उनले भने ।
सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता युक्रेनले विदेशी साझेदारबाट करिब २०० अर्ब डलर बराबरको वित्तीय सहयोग प्राप्त गरेको छ । यसबाहेक उसले अर्बौँ डलर बराबरको सैन्य सहायता पनि पाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


